बङ्गलादेशको कोराइल बस्तीमा भीषण आगलागी, १,५०० भन्दा बढी घर नष्ट
  • प्रमुख खबर

 मंसिर १२,काठमाडौँ

बंगलादेशको राजधानी ढाकास्थित सबैभन्दा ठूलो अनौपचारिक बस्ती कोराइलमा मंगलबार साँझ लागेको भीषण आगलागीले १,५०० भन्दा बढी घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार आगो निभाउन १६ घण्टाभन्दा बढी समय लागेको थियो।

दमकल अधिकारी राशेद बिन खालिदका अनुसार मंगलबार साँझ सुरू भएको आगो बुधबार दिउँसो मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याउन सकियो। बस्ती अत्यन्तै साँघुरो र घरहरू एक–अर्कासँग टाँसिएर बनेका कारण आगो तीव्र रूपमा फैलिएको थियो। साँघुरो गल्लीका कारण दमकलका सवारीहरू भित्री भागमा प्रवेश गर्न नसक्दा नियन्त्रण गर्न थप कठिनाइ भएको अधिकारीहरूले बताएका छन्।

समाचारअनुसार खाना पकाउने ग्यास सिलिन्डर विस्फोटका कारण आगो लाग्ने प्रारम्भिक आशंका गरिएको छ।
१६० एकड क्षेत्रफलमा फैलिएको कोराइल बस्तीमा करिब ८० हजार मानिस बसोबास गर्छन्, र आगलागीपछि हजारौं मानिस घरवारविहीन भएका छन्।

घाइते वा मृतकहरूको आधिकारिक विवरण भने अझै सार्वजनिक भएको छैन। यसअघि सन् २०१७ मा पनि कोराइल बस्तीमा ठूलो आगलागी भएको इतिहास रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्