मंसिर १२, पोखरा ।।
कास्की प्रहरीले लागूऔषध कारोबारमा संलग्न एक युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा – २४ कास्कीकोट घर भई हाल पोखरा–६, लेकसाइड स्ट्रिट नं.४ मा डेरामा बस्दै आएकी २३ वर्षीया आन्सी परियार रहेको प्रहरीले जनाएको छ।
मंसिर ११ गते दिउँसो करिब १ बजे लेकसाइड क्षेत्रमा लागू औषधको अवैध बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेकी परियारको कोठामा प्रहरीले खानतलासी गर्दा डायजापाम ३४ एम्पुल, फेनेरागन ३३ एम्पुल र ब्रुफिनुर्फिन ३४ एम्पुल गरी १ सय १ एम्पुल लागूऔषध बरामद गरेको छ। यस्तै उनको साथबाट एक थान मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद लागू औषधहरू सुईमार्फत प्रयोग गरिने अत्यन्तै खतरनाक श्रेणीमा पर्ने औषधि हुन्, जसको अवैध कारोबारले समाजमा गम्भीर असर पर्ने प्रहरीको भनाइ छ।
पक्राउ परेकी परियारलाई नियन्त्रणमा लिइ कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
प्रहरीले पोखरा जस्तो पर्यटकीय शहरमा लागूऔषध कारोबार मौलाउँदै गएको भन्दै यस्ता गैरकानुनी गतिविधिमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ।
त्यस्तै लागूऔषध कारोबार नियन्त्रणका लागि नागरिकको सूचनालाई अत्यन्तै महत्वपूर्ण मान्दै शङ्कास्पद गतिविधि देखिए तुरुन्त प्रहरीलाई जानकारी गराउन पनि अनुरोध गरेको छ।
यस घटनापछि लेकसाइड क्षेत्रमा लागू औषध कारोबारप्रति थप निगरानी बढाइएको प्रहरीले जनाएको छ।












