मंसिर १२, पोखरा ।।
पोखरा महानगरपालिका-११ फूलबारीमा शुक्रबार(आज) नि:शुल्क आँखा परीक्षण तथा मोतिविन्दु पहिचान शिविर सम्पन्न भएको छ।

फूलबारी क्लबको आयोजना र दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा १ सय ८५ जनाको आँखा जाँच गरिएको क्लबका अध्यक्ष जनार्दन बाँस्तोलाले जानकारी दिए।
जाँचका क्रममा १५ जनामा मोतिविन्दु देखिएको र उनीहरू सबैको आगामी मंसिर २५, २६ र २७ गते दृष्टि आँखा अस्पतालमै निःशुल्क शल्यक्रिया गरिने अस्पताल स्रोतले जनाएको छ।
गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्त्री थापाले यस्ता सामुदायिक शिविरले आर्थिक रूपले विपन्न नागरिकलाई ठूलो राहत पुग्ने बताए । उनले भने,”आँखाको उपचार निकै महँगो हुन्छ, यस्ता शिविरले धेरैको जीवनमा उज्यालो छर्ने काम गर्छ ।”
स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको उक्त शिविरमा फूलबारी क्लबका सह-सचिव अनन्तराज आचार्यले भने यदि आफूहरूको सानो प्रयासले कसैको संसार अँध्यारोबाट उज्यालो होस् भन्ने नै उद्देश्य रहेको बताए । क्लबले यस्ता स्वास्थ्यसम्बन्धी शिविरहरू भविष्यमा पनि निरन्तरता दिने जनाएको छ।












