क्याम्पसको वार्षिकोत्सवमा मानव सेवा आश्रमलाई आर्थिक सहयोग
  • प्रमुख खबर

मंसिर १३, पोखरा ।।
पोखरा बहुमुखी क्याम्पसको ३९ औँ वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत क्याम्पसले मानव सेवा आश्रम हेमजा शाखामा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेको छ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले आर्थिक संकलनमा सक्रिय भूमिकाका लागि विद्यार्थी, कर्मचारी, प्राध्यापक तथा सञ्चालक समितिका सबै पदाधिकारीप्रति धन्यवाद व्यक्त गर्दै १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक मानव सेवा आश्रमका जिल्ला संयोजक सम्झना बर्त्यौलालाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रमका संयोजक महेन्द्र प्रसाद रिमालका अनुसार सामाजिक उत्तरदायित्व, सेवा भावना र सहानुभूति जागृत गर्ने उद्देश्यले आश्रममा आर्थिक सहयोग हस्तान्तरण गर्ने कार्यक्रम परिकल्पना गरिएको हो।

उक्त रकम विद्यार्थी, कर्मचारी, प्राध्यापक तथा क्याम्पस सञ्चालक समितिबाट संकलन गरिएको थियो।

मानव सेवा आश्रमका कास्की जिल्ला संयोजक सम्झना बर्त्यौलाका अनुसार मानव सेवा आश्रम दीर्घरोगी, मानसिक तथा शारीरिक अपाङ्गता भएका, तथा बेबारिसे नागरिकहरूका लागि महत्वपूर्ण आश्रयस्थलका रूपमा स्थापित हुँदै आएको छ।

यसैगरी जन्मदिन, वर्षगाँठ, पुण्यतिथि लगायत विभिन्न कार्यक्रमको अवसरमा खाना खुवाउने र सहयोग गर्ने सहयोगी हात जुट्दै गएको भन्दै मानव सेवा नै ठूलो धर्म भएको बताइन् ।

कार्यक्रमका क्रममा सेवक कृष्ण पौडेलले आश्रमको अवलोकन गराएका थिए।

आश्रमको हेमजा शाखामा हाल १ सय ७१ जना पुरुष र छोरेपाटन शाखामा ९३ जना महिलाको आश्रय रहेको छ। छोरेपाटनमा ९ तथा हेमजामा १५ कर्मचारीसहित दुई जना अभियन्ता कार्यरत छन्।

कार्यक्रममा सहभागी विद्यार्थीलाई २०८१ को मेचीकाली अभियान अन्तर्गत गरिएका उद्धार तथा पुनर्मिलनका कथाहरु समेटिएको ३० मिनेटको भिडियो पनि प्रस्तुत गरिएको थियो।

सहयोग हस्तान्तरण कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचन, कोषाध्यक्ष शंकर गुरुङ, सल्लाहकार शंकर देवकोटा, क्याम्पस प्रमुख शिशुकला पराजुली, प्राध्यापक भीम प्रसाद न्यौपाने, पुष्पराज अधिकारी, अनुपमणी अधिकारी लगायत विद्यार्थीहरूको उपस्थिती थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्