आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस: ५ करोड मानिस अझै आधुनिक दासत्वको जोखिममा
  • प्रमुख खबर

मंसिर १६, काठमाडौं ।।
मंगलबार(आज) डिसेम्बर २ तारिख अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा सशस्त्र द्वन्द्वमा बालबालिकाको जबरजस्ती भर्ती जस्ता आधुनिक दासत्वका स्वरूपविरुद्ध विश्वव्यापी चेतना फैलाउने उद्देश्यका साथ यो दिवस विश्वभर मनाइँदै आएको छ।

संयुक्त राष्ट्रसंघले सन् १९४९ डिसेम्बर २ तारिखमा मानव बेचबिखन तथा यौन शोषण रोकथामसम्बन्धी महासभा प्रस्ताव पारित गरेको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउन शुरू गरिएको हो। तर यस दिवसलाई पहिलो पटक औपचारिक रूपमा मनाउन भने १९८६ बाट सुरु गरिएको थियो ।

यस वर्ष नारा “आधुनिक दासत्व अन्त्यका लागि विश्वव्यापी ऐक्यबद्धता” तय गरिएको छ। विश्वभर करिब ५ करोड मानिस आधुनिक दासत्वको जोखिममा रहेका छन्।

तीमध्ये अधिकांश महिला र बालबालिका बलपूर्वक श्रम, यौन शोषण, घरेलु काम र गैरकानुनी गतिविधिमा संलग्न हुन बाध्य पारिएका छन्।

दासत्व अब केवल जन्जिर र खरीद–बिक्रीमा मात्र सीमित नरही संगठित अपराध, श्रम शोषण र मानव तस्करीका विभिन्न स्वरूपमा फैलिएको राष्ट्रसंघको ठहर छ।

विशेषज्ञहरूका अनुसार जातीय विभेद, चरम गरिबी, सामाजिक बहिष्कार, बेरोजगारी तथा असमानतामा आधारित व्यवहारकै कारण केही समुदाय अझै शोषणको उच्च जोखिममा छन्।

खासगरी प्रवासी तथा असुरक्षित श्रमिकहरू घरेलु काम, निर्माण, कृषि, वस्त्र उद्योगदेखि यौन क्षेत्रमा समेत आर्थिक शोषणमा पर्न बाध्य हुने गरेका छन्।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले दासत्व तथा आधुनिक शोषण अन्त्य गर्न सरकार, नागरिक समाज, निजी क्षेत्र र समुदायबीच सशक्त सहकार्य आवश्यक रहेको बताएको छ।

आईएलओका अनुसार पीडितको तत्काल उद्धार, सुरक्षित पुनःस्थापना, न्यायमा पहुँच र दीर्घकालीन सामाजिक–आर्थिक सुरक्षा सुनिश्चित नगरेसम्म दासत्व उन्मूलन सम्भव नहुने स्पष्ट पारेको छ।

नेपालमा पनि मानव तस्करी, बालश्रम, जबरजस्ती श्रम तथा वैदेशिक रोजगारीका नाममा हुने ठगी र शोषण गम्भीर समस्याका रूपमा रहँदै आएको छ।

ग्रामीण क्षेत्रका महिला, बालबालिका तथा बेरोजगार युवाहरू विशेष रूपमा जोखिममा रहेको सरोकारवालाको भनाइ छ।

सरकारले कानुनी सुधार र विभिन्न अभियान सञ्चालन गरेपनि व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको निष्कर्ष निकालिएको छ।

यस्तै दिवसको अवसरमा आज विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था तथा सामाजिक अभियन्ताहरूले विद्यालय, समुदाय र सार्वजनिक स्थलमा सचेतनामूलक कार्यक्रम, र्‍याली तथा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्