मंसिर २०, पोखरा ।।
गण्डकी प्रदेशको हिमाली क्षेत्रमा शनिबार(आज) हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति पनि गण्डकी प्रदेशको हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
हाल देशका कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मौसम आंशिक बदली रहेको छ भने अन्य बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा पनि आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार पहाडी र हिमाली क्षेत्रमा चिसोको प्रभाव अझै केही दिन कायम रहनेछ।
यस्तै आज बिहान पोखराको न्यूनतम तापक्रम करिब ८ डिग्री सेल्सियस मापन गरिएको छ। हाल मौसम “हल्का कुहिरोसहित घाम” देखिएको छ।
त्यस्तै मौसमविदहरूले हिमाली तथा पहाडी क्षेत्रका बासिन्दालाई हिउँ र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
विशेषगरी वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूलाई चिसोबाट जोगिन सुझाव दिइएको छ।














