बाल प्रतिभाको महाकुम्भ: पोखरामा चौथौं मन्टेश्वरी बाल प्रतिभा प्रस्फुटन हुने
  • संजय थापा

मंसिर २०, पोखरा ।।
चौथौं संस्करणको मन्टेश्वरी बाल प्रतिभा प्रस्फुटन २०८२ हुने भएको छ। प्रत्येक दुई वर्षको अन्तरालमा विगत ८ वर्षदेखि हुँदै आएको यस कार्यक्रमको चौथौं संस्करण समेत हुने भएको हो।

कास्कीका मन्टेश्वरी विद्यालयका बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको यस प्रतिभा प्रस्फुटन कार्यक्रम यही मंसिर २७ पोखरा-१, बगर स्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने एशोसिएसनका सह–सचिव थिरबहादुर थापाले जानकारी दिएका छन् ।

थापाका अनुसार गत भाद्र २८ गतेका लागि तय गरिएको कार्यक्रम जेन्जी आन्दोलनका कारण स्थगित हुन पुगेको थियो । हाल सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र मंसिर २७ मा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्ने लक्ष्यसहित उप–समितिहरू सक्रिय रूपमा परिचालन गरिएको उनले बताए ।

यस्तै एशोसिएसनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक ऋतु पौडेलले यस प्रतिभा प्रस्फुटन कार्यक्रममा ४० वटा मन्टेस्वरी विद्यालयका ७ सय भन्दा बढी विद्यार्थीहरूले नृत्य, गायन, अभिनय, कविता वाचनलगायत विविध सिर्जनात्मक तथा सांस्कृतिक प्रस्तुति दिने बताइन्।

विषेशगरी यस कार्यक्रमले बालबालिकाको अन्तरनिहित प्रतिभा उजागर गर्नुका साथै उनीहरूको आत्मविश्वास र सृजनशीलता बढाउने विश्वास आफूहरूको रहेको उनले बताइन् ।

कार्यक्रममा अभिभावक, शिक्षक–शिक्षिका तथा विशिष्ट अतिथिसहित करिब ३ हजार दर्शक उपस्थित हुने अनुमान गरिएको उपाध्यक्ष पाैडेलले जानकारी दिइन् । यसले कार्यक्रमलाई अझ भव्य र उत्साहपूर्ण बनाउने अपेक्षा आयोजकको छ।

यस कार्यक्रममा प्रस्तुति दिने सहभागी सबै विद्यालयलाई सहभागिताको प्रमाण-पत्र र मायाको चिनो प्रदान गरिनेछ भने प्रस्तुति दिने प्रत्येक विद्यार्थीलाई पनि मायाको चिनो प्रदान गरिने एशोसिएसनले जनाएको छ।

यसले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने विश्वास उनीहरूले गरेका छन्। कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न विभिन्न उप–समितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको र तयारी अन्तिम चरणमा पुगेको जानकारी अध्यक्ष भवानी अधिकारीले दिइन् ।

यस कार्यक्रमको अनुमानित खर्च ८ लाख रुपैयाँभन्दा बढी लाग्ने बताइएको छ। उक्त आर्थिक स्रोत सहयोगी दाता तथा सहभागी विद्यालयको दर्ता शुल्कबाट व्यवस्थापन गरिने आयोजकले जनाएको छ।

बालबालिकाको प्रतिभा अभिव्यक्त गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै गएको मन्टेश्वरी बाल प्रतिभा प्रस्फुटन कार्यक्रम यस वर्ष अझ व्यवस्थित, आकर्षक र स्मरणीय बन्ने आयोजकको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्