लागू औषधविरुद्ध प्रहरीको विशेष अपरेसन: पोखराका विभिन्न स्थानबाट एकैदिन ५ जना पक्राउ
  • प्रमुख खबर

मंसिर २२, पोखरा ।।
लागू औषध कारोबार विरुद्ध कास्की जिल्लामा प्रहरीलाई ठूलो सफलता मिलेको छ।

जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय शिशुवा तथा लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका भित्रका विभिन्न स्थानबाट ३१.८ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा -३१ बेगनास क्षेत्रमा बसोबास गर्ने ३० वर्षीय मिलन क्षेत्रीको साथबाट १.८ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा सो घटनामा पोखरा–३० बेगनासताल बस्ने २१ वर्षीय अतित थापाको समेत संलग्नता खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको छ।

त्यस्तै सोही दिन अपराह्न करिब ४ बजे पोखरा–२७ रिठेपानी स्थायी घर भई हाल पोखरा–३० शिशुवामा बस्दै आएका २३ वर्षीय हसन भण्डारी ११ ग्राम ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस विषयलाई लिएर अनुसन्धानको क्रममा मादी गाउँपालिका वडा नं. ३ घर भई हाल शिशुवामा बस्दै आएका ३९ वर्षीय उदिप गुरुङको समेत संलग्नता देखिएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै साँझ करिब ६ बजे पोखरा -२६ जलधारे बस्ने ४३ वर्षीय बिक्की परियारको साथबाट १९ ग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ, एक थान डिजिटल तराजु र एक थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

तीनवटै घटनाबाट बरामद गरिएको लागू औषधलाई डिजिटल तराजुमा तौल गर्दा ३१.८ ग्राम ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ रहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय पोखराका विभिन्न क्षेत्रमा लागू औषधको कारोबार बढ्दै गएपछि प्रहरीले विशेष निगरानी र अपरेसनलाई तीव्र बनाएको जनाएको छ।

प्रहरीले विभिन्न स्थानमा लागू औषध बिक्री भइरहेको सूचनाका आधारमा गरिएको विशेष अपरेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका सबै व्यक्तिलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।

प्रहरीले लागू औषध कारोबारमा संलग्न जो कोहीमाथि कडा कानूनी कारबाही गरिने चेतावनी दिँदै स्थानीय सर्वसाधारणलाई पनि शंकास्पद गतिविधिबारे तत्काल सूचना दिन अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्