मंसिर २२, काठमाडौं ।।
मतदाता नामावलीमा देखिएका त्रुटि सच्याउने अन्तिम अवसरका रूपमा निर्वाचन आयोगले मंसिर २६ गते शुक्रबारसम्मको समयसीमा तोकेको छ।
आयोगले आज सार्वजनिक गरेको विज्ञप्तिमार्फत मतदाता नामावलीमा नाम, उमेर, ठेगाना, फोटो लगायतका विवरणमा त्रुटि देखिएमा अनलाइन प्रणालीमार्फत सच्याउन सकिने जानकारी दिएको हो।
आयोगका अनुसार यदि कसैले झुटा विवरण पेश गरी नामावलीमा नाम दर्ता गराएको आशंका भएमा त्यसबारे पनि २६ गतेसम्म उजुरी दिन सकिने छ।
यस्तै परिवारमा कसैको देहान्त भएको खण्डमा मृतकको नाम मतदाता नामावलीबाट हटाउनका लागि पनि समयसीमा तोकिएको छ।
त्यस्तै हालै केही मतदानस्थल पुनरावलोकन गरिएको भन्दै आयोगले मतदातालाई आफूले मतदान गर्ने स्थल यकिन गर्न र आवश्यकता अनुसार आफ्नो वडाभित्रकै पायक पर्ने मतदानस्थल छनोट गर्न पनि निवेदन दिन आग्रह गरेको छ।
यस्तो निवेदन अनलाइन प्रणाली वा सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत दिन सकिने आयोगले जनाएको छ।
आयोगले तोकिएको म्यादभित्र सबै मतदातालाई आफ्ना विवरण सच्याउन तथा मतदाता नामावलीलाई अद्यावधिक गर्न सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरेको छ।
आयोगले मंसिर २६ पछि भने यससम्बन्धी कुनै पनि निवेदन स्वीकार नहुने स्पष्ट पारेको छ।












