पश्चिमी वायुको प्रभाव कहिलेसम्म? आज देशभरको मौसम कस्तो रहने?
  • प्रमुख खबर

मंसिर २३, काठमाडौं ।।
देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस प्रणालीको प्रभावले विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली देखिएको छ भने तराईसहित बाँकी अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार सोमबार(आज) दिउँसो कोशी प्रदेशमा पनि आंशिक बदलीको अवस्था रहनेछ । बाँकी प्रदेशहरूमा भने दिनभर मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

पहाडी क्षेत्रमा हल्का बादल लागेपनि हालसम्म उल्लेखनीय वर्षा वा मौसमजन्य जोखिमको सम्भावना देखिएको छैन।

यस्तै आज राति देशभरको मौसम पुनः मुख्यतया सफा रहने महाशाखाले स्पष्ट पारेको छ।

रातिको समयमा चिसो बढ्न सक्ने भएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन समेत मौसमविद्ले सुझाव दिएका छन्।

पश्चिमी वायुको प्रभाव कमजोर बन्दै गएकाले आगामी दिनमा तापक्रममा क्रमशः वृद्धि हुने र मौसम थप खुल्ने प्रक्षेपण गरिएको छ। तर बिहान र बेलुकीको समयमा चिसो यथावत् रहने भएकाले विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीले स्वास्थ्यमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्