इन्सेकको तथ्यांक: नेपालमा दैनिक २५ जनाभन्दा बढी मानव अधिकार उल्लङ्घनको शिकार
  • सरिता गुरुङ

मंसिर २४, पोखरा ।।
बुधबार(आज) ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

विषेशगरी मानव अधिकारको संरक्षण, प्रवर्द्धन र सम्मानका लागि साझा विश्वव्यापी प्रयास र प्रतिबद्धताको सन्देशसहित यो दिवस प्रत्येक वर्ष डिसेम्बर १० तारिखका दिन मनाइने गरिन्छ।

यस दिवसलाई मानव जातिको आधारभूत अधिकार सुनिश्चित गर्ने साझा संकल्पको प्रतीकको रूपमा लिइन्छ।

नेपालमा पनि दिवसको अवसरमा सरकारी निकाय, मानव अधिकारसम्बन्धी संस्थाहरू, नागरिक समाज र विभिन्न संघ–संस्थाहरूले विविध कार्यक्रम आयोजना गरेका छन्।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९४८ डिसेम्बर १० तारिखका दिन मानव अधिकारको विश्वव्यापी घोषणा-पत्र (युनिभर्सल डिक्लेयरेशन अफ ह्युमन राइट्स—यूडीएचआर) पारित गरेको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ।

उक्त घोषणा-पत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै पनि प्रकारको भेदभाव नगरी सबै मानिसलाई समान अधिकार र सम्मानको ग्यारेन्टी गरेको छ।

यस घोषणा-पत्रलाई मानव अधिकारको अन्तर्राष्ट्रिय आधारशिला मानिन्छ। मानव अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका मानव अधिकार रक्षकहरूको सम्मानस्वरूप हरेक वर्ष डिसेम्बर ९ तारिखका दिन अन्तर्राष्ट्रिय मानव अधिकार रक्षक दिवस पनि मनाउने गरिन्छ।

यस अवसरमा पनि हिजो नेपालसहित विश्वभर मानव अधिकार रक्षकहरूको योगदानको स्मरण गरिएको थियो।

नेपालको सन्दर्भमा संविधानले मौलिक हकअन्तर्गत विचार र अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा भेला हुन पाउने अधिकार तथा सङ्गठन खोल्न पाउने स्वतन्त्रता लगायतका थुप्रै अधिकारहरूको सुनिश्चितता गरेको छ।

यससँगै मानव अधिकारकर्मीहरूको सुरक्षा र संरक्षणका लागि नेपाल सरकारले “मानव अधिकारकर्मीको सुरक्षा तथा संरक्षणसम्बन्धी आदेश, २०७७” जारी गरी कार्यान्वयनमा ल्याएको छ। तर, अझै पनि समाजका विभिन्न तहमा मानव अधिकार उल्लङ्घनका चुनौतीहरू कायम नै रहेकाले सबै पक्ष सचेत, जिम्मेवार र संवेदनशील हुनुपर्ने आवश्यकता समय-समयमा अगुवाहरूले औंल्याइ रहेका छन् ।

सरकार, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकको संयुक्त प्रयासबाट मात्र मानव अधिकारको वास्तविक कार्यान्वयन सम्भव हुने सरोकारवालाहरूको जोड छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा दैनिक २५ जनाभन्दा बढी व्यक्ति मानव अधिकार उल्लङ्घन तथा दुरुपयोगको शिकार हुने गरेका छन्।

इन्सेकले सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्षपुस्तक २०२४ अनुसार सन् २०२३ मा नेपालभर कुल ९ हजार ३ सय ८८ जना मानिस मानव अधिकार उल्लङ्घन र दुरुपयोगको शिकार भएका थिए ।

त्यस्तै २०२४ मा १० हजार ७ सय ३४ जना फरक–फरक व्यक्तिहरू मानव अधिकार उल्लङ्घन र अश्लीलताको शिकार भएका थिए।

यस विषयमा इन्सेक बागमती प्रदेशका संयोजक शिव खकुरेलसँग प्रमुख मीडियाले गरेको कुराकानीमा उनले विषेशगरी नेपालमा मानव अधिकार उल्लंघनका घटनाहरू विविध रहेको तर केही मुख्य क्षेत्रहरूमा बढी देखिने गरेको बताएका छन् ।

रिपोर्टको आधारमा हेर्ने हो भने हत्या, बलात्कार र ज्यान मार्ने घटनाहरू, सशस्त्र संघर्ष र राजनीतिक हिंसा, सामाजिक र जातीय भेदभाव, श्रम र काम गर्ने अधिकारको उल्लङ्घन, महिला र बच्चा सम्बन्धी उल्लङ्घन, सार्वजनिक प्रशासन र कानुनी अधिकारको उल्लङ्घन जस्ता क्षेत्रमा बढी मानव अधिकार उल्लंघन भएको देखिएको उनले बताए ।

यस्तै संयोजक खकुरेलले पछिल्लो समय जलवायु परिवर्तन र वातावरणीय संकटले साधारण “प्राकृतिक/पारिस्थितिक” असर मात्र नभई मानव अधिकारको सन्दर्भमा गम्भीर चुनौती पनि उत्पन्न गरेको बताए ।

उनले नेपालको मानव अधिकार संरक्षणमा जलवायु परिवर्तनले नयाँ चुनौती थपिरहेको बताउँदै इन्सेकको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अनुसार, जलवायु परिवर्तनका प्रभावले मुख्य रूपमा विभिन्न क्षेत्रमा मानव अधिकार उल्लङ्घनका घटनाहरू देखिएका छन् ।

जसअन्तर्गत जीवन र स्वास्थ्य अधिकारमा संकट, कमजोर र सिमान्तकृत समुदाय असमानुपातिक रूपमा प्रभावित भएको, विस्थापन र सांस्कृतिक अधिकारमा असर, महिला र बालिकामाथि थप जोखिम जस्ता मानव अधिकार उल्लङ्घनको जोखिम बढाएको देखिएको उनले स्पष्ट पारे।

त्यस्तै यस अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना सन्देश व्यक्त गर्दै मानव अधिकारको सम्मान, संरक्षण र कार्यान्वयनमा सबैको साझा दायित्व रहेको उल्लेख गरेका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्