मंसिर २५, काठमाडौं ।।
देशभर बिहीबार(आज)को मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नपरेको भएकाले स्थिर र खुल्ला मौसम रहने महाशाखाको विश्लेषण छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका धेरै स्थानहरूमा बिहानैदेखि नै खुला आकाश छ। सफा मौसमसँगै दैनिक गतिविधि सहज बनेको छ भने तापक्रममा पनि क्रमिक सुधार देखिएको छ।
दिउँसोको समयमा भने कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। त्यहाँ सामान्य बादल लाग्ने भएपनि वर्षा वा अन्य मौसमीय गतिविधि हुने सम्भावना न्यून रहेको महाशाखाले जानकारी दिएको छ।
यस्तै बाँकी प्रदेश तथा भू-भागमा आकाश खुला रहने, घाम लाग्ने र सामान्यतया स्थिर मौसम कायम रहने अपेक्षा गरिएको छ।
मौसम सफा भएकाले हवाई तथा स्थल यातायातमा सहजता रहने र दैनिक कामकाज तथा यात्रा–यातायातका लागि अनुकूल अवस्था रहने महाशाखाले उल्लेख गरेको छ।












