पोखरामा श्रृंखलाबद्ध रूपमा चोरी गर्ने दुई युवक समातिए
  • प्रमुख खबर

मंसिर २५, पोखरा ।।
पछिल्लो समय कास्की जिल्लामा चोरीका घटनामा वृद्धि भएका छन् । यस विषयलाई प्रहरीले सुक्ष्म तवरले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ।

सोही क्रममा प्रहरीले चोरीका घटनामा संलग्न रहेको भन्दै दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्यूठान स्थायी घर भई हाल पोखरा–३, नदिपुर बस्ने २४ वर्षीय सुमित थापा मगर र धादिङ स्थायी घर भई सोही स्थान बस्ने २७ वर्षीय सुजन परियार रहेका छन् ।

उनीहरूलाई मंसिर ११ गते वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा–९, रामघाटबाट पक्राउ गरेको हो।

कास्की जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइले सञ्चालन गरेको अनुसन्धान र खोजतलासका क्रममा उनीहरू विगतदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।

यही घटनालाई लिएर अनुसन्धानका क्रममा उनीहरू कास्कीका विभिन्न स्थानमा भएका चारवटा चोरीका घटनामा संलग्न रहेको खुलेको छ ।

जसअन्तर्गत सुमित थापा मगर असोज २७ गते पोखरा–१३, विपि मार्गस्थित पोखरा लक्ष्मी ट्रेडर्सको काउण्टरको घर्रा फोरी नगद रु. ४१ हजार, नागरिकता, बिलबुक, लाइसेन्स लगायतका कागजात चोरीमा संलग्न थिए ।

मंसिर ४ गते पोखरा–४, आदर्शमार्गमा पार्किङ गरिएको ग १५ प १०२० नम्बरको होण्डा डियो स्कुटर चोरी भएको थियो । यस घटनामा उनीहरू दुवै जना संलग्न थिए ।

मंसिर ६ गते पोखरा–१७, ड्यामसाइडस्थित आरुस स्टोर्स प्रा.लि.को ढोका फोडेर नगद रु. २ लाख ७३ हजार ५ सय चोरी भएको थियो । यस घटनामा भने थापा मगर मात्र संलग्न थिए ।

त्यस्तै मंसिर १० गते अर्को चोरीको घटना घटेको थियो ।सो दिन पोखरा–८, न्यूरोडमा पार्किङ गरिएको गाडीबाट लाइसेन्स, बिलबुक, एटिएम कार्ड, विभिन्न चेक तथा नगद रु. ३५ हजार रहेको झोला चोरी भएको थियो । यसमा दुवै जना संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उनीहरू विगतदेखि नै आपराधिक क्रियाकलापमा सक्रिय रहेको देखिएको छ ।

विषेशगरी पक्राउ परेका मध्ये थापा मगर अभद्र व्यवहार, चोरी उद्योग, चोरी, केही सार्वजनिक अपराधलगायतका मुद्दामा ८ पटकसम्म पक्राउ परिसकेका र भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट समेत फरार भएको खुलेको छ। फरार रहेकै क्रममा उनले फेरि निरन्तर चोरीका गतिविधि दोहोर्याएको प्रहरीको दाबी छ।

त्यस्तै परियार भने यसअघि अभद्र व्यवहार मुद्दामा पक्राउ परेका व्यक्ति भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको समेत कास्की प्रहरीले जनाएको छ।

कास्कीमा चोरीका घटना बढ्न थालेसँगै जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेले नागरिकलाई सतर्क रहन र शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा नजिकैको प्रहरी कार्यालयलाई खबर गरिदिन अपिल गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्