मंसिर २८, काठमाडौं ।।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
उक्त प्रणालीको प्रभावका कारण आइतबार(आज) देशका केही पहाडी भू-भागमा आंशिक बदली देखिएको भएपनि अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तर तराई तथा अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको जनाइएको छ।
दिउँसो पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना छ। बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
त्यस्तै आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशका अधिकांश भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार हाल कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले निकट भविष्यमा पनि मौसम स्थिर रहने सम्भावना छ।
तर, पहाडी क्षेत्रका बासिन्दालाई बिहान र बेलुकाको चिसो तथा आंशिक बदलीका कारण हुन सक्ने सामान्य प्रभावप्रति सतर्क रहन आग्रह गरिएको छ।












