पौष २, पोखरा ।।
कास्की प्रहरीले लागू औषधसहित एक जना व्यक्तिलाई पक्राउ गरेका छन्। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ घर भएका ४१ वर्षीय बिरेन्द्र तुलाचन रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधको बिक्री–वितरण भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा पुस १ गते राति करिब १ः३० बजे पोखरा–९ पृथ्वीचोकस्थित एक होटलको कोठामा लुकीछिपी राखिएको अवस्थामा लागू औषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार तुलाचनको साथमा रहेको झोलाबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ४ दशमलव ५ सय ग्राम बरामद गरेको छ।
त्यस्तै डाइजापाम ३ सय १९ एम्पुल, फेनेरागन ३ सय ५२ एम्पुल र ब्रुफिनुर्फिन ३ सय एम्पुल गरी ९ सय ७१ एम्पुल लागू औषधसमेत फेला परेको कास्कीका प्रहरी नायब उपरीक्षक एंव सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिएका छन्। यससँगै प्रहरीले उनको साथबाट तीन थान मोबाइल फोन पनि बरामद गरेको छ।
पक्राउ परेका उनलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रवक्ता बस्नेतले बताए।
प्रारम्भिक अनुसन्धानका क्रममा लागू औषधको अवैध ओसारपसार तथा कारोबारमा संलग्नता रहेको आशंकामा प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्षबारे पनि अनुसन्धान गरिरहेको बताइएको छ ।
पछिल्लो समय जिल्ला प्रहरी कार्यालय कास्कीले लागू औषधको कारोबार समाजका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै यस्ता अवैध गतिविधिविरुद्ध नियमित निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइने जनाएको छ।












