महानगरको ६७औँ स्थापना दिवसमा पोखराका नौं व्यक्तित्व ‘पोखरेली नवरत्न सम्मान’बाट विभूषित
  • प्रमुख खबर

Oplus_131072

पौष २, पोखरा ।।
पोखरा महानगरपालिकाले पोखराको गौरवका रूपमा स्थापित विभिन्न क्षेत्रका नौ जना विशिष्ट व्यक्तित्वलाई ‘पोखरेली नवरत्न सम्मान’ प्रदान गरेको छ।

बुधबार(आज) महानगरपालिकाको ६७औँ स्थापना दिवसको अवसर पारेर आयोजित विशेष कार्यक्रममा पोखरामै बसेर साहित्य, संगीत, शिक्षा, स्वास्थ्य, खेलकुद, उद्यम, समाजसेवा, कृषि, धार्मिक पर्यटन तथा पत्रकारितालगायत विविध क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका व्यक्तित्वलाई यो सम्मान प्रदान गरिएको हो।

सम्मानित हुनेमा साहित्यतर्फ संस्कृतिविद् तीर्थ श्रेष्ठ, संगीत तथा गायनतर्फ चर्चित नेपथ्य ब्याण्डका अगुवा अमृत गुरुङ, उद्यमशीलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, शिक्षा सेवा तथा उद्योगतर्फ हरिप्रसाद पाण्डे, समाजसेवा तथा उद्योगतर्फ चन्द्रकृष्ण कर्माचार्य, स्वास्थ्यतर्फ प्रा.डा. बुद्धिबहादुर थापा, धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल तथा पत्रकारितातर्फ तिलकमान गुभाजु रहेका छन्।

सम्मानित सबैलाई नगद २ लाख २ हजार २ सय २ रुपैयाँ, ताम्रपत्र, दोसल्ला र पदक प्रदान गरिएको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायत जनप्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन्।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले पोखराको पहिचान र प्रतिष्ठा निर्माणमा यी व्यक्तित्वहरूको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनीहरूको योगदानले भावी पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे।

यस्तै महानगर प्रमुख आचार्यले पोखरालाई चिनाउने र समृद्ध शहर निर्माणमा यस्ता व्यक्तित्वको भूमिकालाई कदर गर्दै आगामी दिनमा पनि योगदानको सम्मान गर्ने नीति निरन्तर रहने बताए।

सम्मानितको तर्फबाट मन्तव्य राख्दै संस्कृतिविद् तथा साहित्यकार तीर्थ श्रेष्ठले ‘पोखरेली नवरत्न सम्मान’ले आफूहरूलाई पोखरा र राष्ट्रका लागि अझ जिम्मेवार बनाएको र थप योगदान गर्ने ऊर्जा दिएको बताए।

उनले भने, “यो सम्मान केवल व्यक्तिगत होइन, पोखराको संस्कृति, पहिचान र मूल्यको सम्मान हो ।” स्थापना दिवसको अवसरमा आयोजित यो सम्मान कार्यक्रमले पोखराको सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा योगदान पुर्‍याउने व्यक्तित्वहरूको योगदानलाई सार्वजनिक रूपमा सम्मान गर्दै पोखराको गौरव र पहिचानलाई अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्