एक शताब्दीभन्दा लामो जीवनको सम्मान : पोखराले पायो महानगर माता–पिता
  • प्रमुख खबर

Oplus_131072

पौष २, पोखरा ।।
पोखरा महानगरपालिकाले आफ्नो ६७औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा महानगरभित्रका सबैभन्दा जेष्ठ नागरिकलाई ‘महानगर माता–पिता’को रूपमा सम्मान गरेको छ।

बुधबार(आज) आयोजित उक्त कार्यक्रममा यस वर्षको विशेष सम्मानमा महानगरभित्र लामो जीवनयापन गरेका व्यक्तिहरूलाई सम्मानित गरिएको हो ।

सम्मानित हुनेमा महानगरपालिका वडा नम्बर २८ की १ सय ७ वर्षीय झ्याउरी तिमिल्सिनालाई ‘महानगर माता’को उपाधि प्रदान गरिएको छ भने वडा नम्बर ३२ का १ सय ४ वर्षीय काशिनाथ पण्डीतलाई ‘महानगर पिता’को सम्मान प्रदान गरिएको छ।

स्थापना दिवस समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले झ्याउरी आमा र काशिनाथ पण्डीतलाई दोसल्ला ओढाएर ताम्रपत्र र नगदसहित सम्मान गरेका हुन्।

उनीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले भने, “हामीले आज यहाँका जेष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरूको जीवन अनुभव र योगदानलाई याद गरिरहेका छौं। उनीहरूको सेवा र समाजप्रति समर्पणले हामी सबैका लागि प्रेरणाको स्रोत बनेको छ ।”

यस्तै सोही अवसरमा महानगर प्रमुख आचार्यले भने, “महानगर मातापिता हुनु केवल उमेरको कुरा होइन, समाजमा योगदान र सकारात्मक प्रभाव पार्ने कार्यको परिणाम हो। आज हामी पोखराका जेष्ठ नागरिकलाई सम्मानित गर्दै हामी सबैको गौरव बढाएका छौं।”

पोखरा महानगरपालिकाले यसरी जेष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा स्थापना गर्नुको उद्देश्य नागरिकमा समुदायप्रतिको उत्तरदायित्व र आदरभाव बढाउनु साथै दीर्घायु भएका व्यक्तिहरूको योगदानलाई समाजमा उजागर गर्नु रहेको महानगर प्रमुख आचार्यले बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्