पौष २, पोखरा ।।
जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर महिनाभर शान्ति–सुरक्षा, अपराध नियन्त्रण र सामाजिक सचेतनाका क्षेत्रमा उल्लेखनीय सक्रियता देखाएको छ।
प्रहरी तथ्यांकअनुसार मंसिर महिनामा जिल्लाभर १ सय ८६ वटा आपराधिक मुद्दा दर्ता भएका छन् भने १ सय ३८ जना प्रतिवादी पक्राउ परेका छन्।
दर्ता मुद्दामध्ये ३३ वटा गम्भीर तथा जघन्य अपराध, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ७ वटा मुद्दा, आर्थिक अपराध ७८ र अन्य ६८ वटा अपराध रहेका छन्।
फरार प्रतिवादी खोजी अभियानअन्तर्गत ९ जना पक्राउ परेका छन् भने अदालतको फैसला कार्यान्वयनबाट ६ महिनाको कैद र ३५ लाख १२ हजार ६ सय रुपैयाँ जरिवाना असुल गरिएको छ।
यस्तै सामाजिक हिंसासम्बन्धी २९ वटा ठाडो उजुरी दर्ता भएका छन्। ती उजुरीमा ३१ जना पीडित रहेका छन् । तीमध्ये अधिकांश २६ देखि ४५ वर्ष उमेर समूहका छन्।
त्यस्तै घरेलु हिंसाका १९ घटना दर्ता भएका छन्। ती घटनामा शारीरिक, मानसिक र आर्थिक हिंसा देखिएको प्रहरीले जनाएको छ।
दर्ता मुद्दामध्ये १३ वटा मिलापत्रमार्फत समाधान गरिएको छ। प्रहरीको पछिल्लो रिपोर्ट अनुसार कास्कीमा लागू औषध कारोबार र सेवन बढ्दो समस्याका रूपमा देखिएको छ।
मंसिर महिनामा मात्रै लागू औषधसम्बन्धी १४ वटा घटनामा २१ जना पक्राउ परेका छन्। बरामद लागू औषधमा ब्राउनसुगर ३८.५४ ग्राम, गाँजा १ किलो १ सय ५० ग्राम, चरेश, विभिन्न इन्जेक्सन र ट्याब्लेट रहेका छन्।
कास्की प्रहरीले लागू औषध नियन्त्रणका लागि ‘लागू औषध नियन्त्रण कार्ययोजना–२०८२’ कार्यान्वयनमा रहेको जनाएको छ।
अघिल्लो महिना हत्या करणमा पोखरा –१२ ढिकालेथरमा फेला परेको पुरुषको शव प्रकरणमा प्रहरीले कर्तव्य ज्यान मुद्दामा दुई जना अभियुक्त पक्राउ गरेको छ।
६० वर्षीय रमेश सुनारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यससँगै मंसिर महिनामा महिला, पुरुष, बालबालिका र ज्येष्ठ नागरिक गरी ४३ जना हराएको निवेदन परेकोमा २२ जना फेला परेका छन्।
कार्तिक महिनामा हराएकामध्ये ३३ जना यसै महिनामा फेला पारिएको प्रहरीले जनाएको छ। प्रहारका अनुसार मंसिरमा ८ वटा आत्महत्याका घटना दर्ता भएका छन्।
तीमध्ये अधिकांश ४० वर्षभन्दा माथिका पुरुष रहेको प्रहरी तथ्यांकले देखाएको छ।
आत्महत्या न्यूनीकरणका लागि समुदाय र विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको समेत कास्की प्रहरीले जनाएको छ। यसै महिना ८ सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको र ९ जना घाइते भएका छन्।
यस्तै ट्राफिक कारबाही अन्तर्गत ३ हजार ८७ सवारी साधन कारबाही गर्दा २६ लाख ४९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।
त्यसैगरी जिल्लामा भएको ११ वटा आगलागीका घटनामा करिब १ करोड १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीले महिनाभर ६ हजार ९ सय ७१ पटक गस्ती, पिकेट चेकिङ, मोबाइल र ग्रामीण गस्ती सञ्चालन गरेको छ।
सामुदायिक तथा विद्यालय केन्द्रित ९३ वटा कार्यक्रममा ७ हजार २ सय १५ जना र विद्यालयस्तरका २७ कार्यक्रममा २ हजार ३ सय ८५ विद्यार्थी लाभान्वित भएका छन्।
कार्यक्रमहरूमा ट्राफिक सचेतना, लागू औषध, लैंगिक हिंसा, साइबर सुरक्षा र आत्महत्या रोकथामजस्ता विषय समेटिएका छन्।
यसैबीच मंसिर महिनामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट ५ हजार ५ सय ८३ जना सेवाग्राहीले सेवा लिएका छन्। प्रहरी हटलाइन तथा सम्पर्क नम्बरमा १ हजार १ वटा कल प्राप्त भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर महिनाभर भएका घटनाहरूको तथ्याङ्क बुधबार(आज) सार्वजनिक गर्दै यस जिल्लामा आगामी दिनमा अपराध नियन्त्रण, शान्ति–सुरक्षा र सामाजिक सचेतनाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।












