पौष ४, पोखरा ।।
कास्कीमा वृद्ध महिलालाई एक्लै देखेपछि कानको सुन लुट्दै फरार हुने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाका विभिन्न स्थानमा एकै दिन दुई वृद्धामाथि आक्रमण गरी गहना लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्दै आएका २१ वर्षीय सुशील नेपाली, पोखरा–२३ घर भई सोही स्थान बस्ने २७ वर्षीय आशिष नेपाली सुनार र पोखरा–२३ कै १८ वर्षीय विजय पराजुली रहेका छन्।
लुटिएको गहना बिक्रीवितरणमा संलग्न आशिषकी २१ वर्षीया श्रीमती अस्मिता नेपाली र चोरीको सुन खरिद गर्ने पोखरा–१ का ५३ वर्षीय तुल बहादुर विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार पुस १ गते दिउँसो करिब पौने ४ बजे माछापुच्छ्रे गाउँपालिका–६ ठूलोकुनामा स्कुटरमा आएका तीन जनाले ८२ वर्षीया वृद्धालाई लछारपछार पार्दै कानको सुनको रिङ लुटेर फरार भएका थिए।
सोही दिन केही समयपछि पोखरा–१९ पुरनचौरमा समेत ६५ वर्षीया महिलाको पनि उस्तै शैलीमा कानको रिङ लुटपाट गरिएको थियो।
लगातार घटेका लुटपाटका घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त टोलीले अनुसन्धान तीव्र बनाएको थियो।
अनुसन्धानकै क्रममा आशिष, विजय र सुशीलको संलग्नता खुल्दै गएको प्रहरीले जनाएको छ। उनीहरूले प्रयोग गरेको ग६प ५१८२ नम्बरको स्कुटर पनि प्रहरीले बरामद गरेको छ।
खानतलासीका क्रममा आशिषको कोठाको सिरानीमुनि लुकाएर राखिएको २ थान सुनको रिङ, २ थान बाला र ६० हजार रुपैयाँ नगद बरामद गरिएको छ।
यस्तै आशिष र उनकी श्रीमती अस्मिताले लुटिएको एक जोर रिङ पोखरा–१ स्थित मुक्तिनाथ सुनचाँदी पसलमा बिक्री गरेको खुलेपछि उक्त पसलका सञ्चालक विश्वकर्मालाई पनि प्रहरीले पक्राउ गरेको हो।
पसलमा गरिएको खानतलासीमा रिङ पगालेर डल्लो बनाइएको अवस्थामा २४ लाल ९ प्वाइन्ट सुन फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनाविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ।












