पौष ५, काठमाडौं ।।
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया खुला रहेको छ ।
हाल तराई क्षेत्र तथा काठमाडौं उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको महाशाखाले जनाएको छ ।
विशेषगरी बिहानको समयमा कुहिरोका कारण सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार शनिबार(आज) दिउँसो सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । यस अवधिमा वर्षा हुने सम्भावना न्यून रहेको छ ।
त्यसैगरी आज राति कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश तथा देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा भने मौसम प्रायः सफा नै रहने महाशाखाको पूर्वानुमान छ ।
मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा तापक्रम अझै घट्न सक्ने जनाउँदै आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
यस्तै कुहिरो लाग्ने सम्भावना रहेका क्षेत्रका यात्रु तथा सर्वसाधारणलाई सचेत रहन समेत महाशाखाले सुझाव दिएको छ ।












