पुष ६,पोखरा
मेलोडी प्लसको आधिकारिक युट्युब च्यानलमार्फत नयाँ नेपाली गीत ‘भक्तपुरे तिनपाने’ सार्वजनिक गरिएको छ। मिलन आर्याल र मेलिना राईको स्वर रहेको यस गीतमा शब्द कमल आर्याल र कृष आर्यालले लेखेका हुन् भने संगीत कृष आर्यालकै रहेको छ।
गीतको भिडियोमा कलाकार कविता नेपाली र डा. किशोर पराजुलीको मुख्य अभिनय देख्न सकिन्छ। परम्परागत लोक भाकासँग आधुनिक स्वाद मिसाइएको ‘भक्तपुरे तिनपाने’ नाच्न मिल्ने लोकधुनमा तयार गरिएको गीत हो।
भिडियोको अवधारणा डा. किशोर पराजुली (PT) को रहेको छ भने निर्देशन निकेश खड्काले गरेका छन्। कोरियोग्राफी पुनम श्रेष्ठको रहेको भिडियोमा सन्दीप पौडेल, अजित सुवेदी, कुशल श्रेष्ठ र किरण श्रेष्ठ सहायक कलाकारका रूपमा देखिएका छन्।
छायांकन उत्तम हुमागाईंले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन बिकाश धमलाले गरेका छन्।
नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै सार्वजनिक गरिएको यस गीतले दर्शक तथा श्रोतालाई नेपाली लोकसांगीतिक स्वादसँगै नाच्न बाध्य पार्ने अपेक्षा गरिएको छ।










