पौष ६, एजेन्सी ।।
पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) अन्तर्गतको विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ ।
अदालतको आदेशको प्रतिलिपिलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यम ‘डन’ले जनाए अनुसार दुवैलाई १ करोड ६४ लाख पाकिस्तानी रुपैयाँ बराबरको जरिवाना पनि तोकिएको छ ।
तोकिएको जरिवाना रकम तिर्न नसके उनीहरूलाई थप जेल सजाय भोग्नुपर्ने अदालतले स्पष्ट गरेको छ ।
अदालतले भ्रष्टाचार, गोपनीयता भङ्ग तथा अन्य गम्भीर अभियोगहरूमा दोषी ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
यसअघि नै विभिन्न मुद्दामा जेल सजाय भोगिरहेका इमरान खान हाल रावलपिन्डीस्थित अडियाला जेलमा बन्दी जीवन बिताइरहेका छन् ।
ताजा फैसलापछि उनकी पत्नी बीबीलाई पनि १७ वर्षको कैद सजाय सुनाइएको खबरमा उल्लेख छ ।
एक समय अन्तर्राष्ट्रिय क्रिकेट जगतमा विश्वव्यापी ख्याति कमाएका इमरान खानले पाकिस्तानलाई सन् १९९२ को क्रिकेट विश्वकप जिताएका थिए ।
खेल जीवनपछि उनले राजनीतिमा पाइला राख्दै पीटीआई स्थापना गरे र सन् २०१८ मा देशको प्रधानमन्त्री बन्न सफल भएका थिए । तर सत्ताच्युत भएपछि उनीमाथि एकपछि अर्को गर्दै कानुनी मुद्दा लाग्दै आएका छन् ।
उनीहरू दुवैले आफूहरूविरुद्ध लगाइएका सबै अभियोग अस्वीकार गर्दै आएका छन् । उनीहरूले यो फैसला राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गरेका छन् ।









