पौष ८, पोखरा ।।
कास्की जिल्लामा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाको भिरकोट नगरपालिका-३ घर भई हाल पोखरा बस्ने २६ वर्षीय जितेन गुरुङ रहेका छन् ।
यही पौष ४ गते पोखरा-४ छब्बिस कुरिया क्षेत्रमा सवारी चेकजाँचका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लागू औषधसहित
ती युवकलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार ग २० प ६७३९ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा गुरुङले भिरेको झोलाभित्रबाट लागू औषध बरामद भएको थियो।
प्रारम्भिक चेकजाँचका क्रममा झोलाभित्र स्ट्यागन २५ लेखिएको १९ ट्याब्लेट, नाइट्राभेट १० लेखिएको ५१ ट्याब्लेट, डाईजापाम ३ एम्पुल, ब्रुफिनुर्फिन ३ एम्पुल र फेनेरागन ३ एम्पुल तथा नगद रकम १४ हजार ७ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
लागू औषध नियन्त्रण ऐन विपरीतको कार्यमा संलग्न रहेको आशंकामा गुरुङलाई तत्काल पक्राउ गरी कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा म्याद थप अनुमति लिइ अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
त्यस्तै अनुसन्धान कै क्रममा थप सूचना तथा प्रमाणका आधारमा पौष ६ गते पोखरा- ९, नागढुङ्गास्थित पर्वत–स्याङ्जा दिपक होटलमा छापा मारिएको प्रहरीले जनाएको छ।
उक्त होटलमा जितेन गुरुङ बसोबास गर्दै आएको कोठा नम्बर १९ भित्र खानतलासी गर्दा लुकाइछिपाइ राखिएको ठूलो परिमाणमा लागू औषध बरामद भएको हो।
कोठाभित्रबाट डाईजापाम ९९ एम्पुल, फेनेरागन ९८ एम्पुल र ब्रुफिनुर्फिन ९७ एम्पुल गरी २ सय ९४ एम्पुल लागू औषध फेला परेको प्रहरीले जानकारी दिएको छ।
बरामद लागू औषध, नगद तथा अन्य सामग्रीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागू औषधको स्रोत, बिक्री वितरण सञ्जाल र संलग्न अन्य व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान तीव्र पारिएको प्रहरीको भनाइ छ।
उक्त घटनाबारे जानकारी दिँदै कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले लागू औषध नियन्त्रणका लागि प्रहरीले निरन्तर निगरानी र कडाइका साथ अभियान सञ्चालन गरिरहेको बताए।
उनले समाजमा फैलिँदै गएको लागू औषध दुर्व्यसन र ओसारपसारविरुद्ध सबै पक्षको सहकार्य आवश्यक रहेकोसमेत उल्लेख गरे।












