पौष ८, पोखरा ।।
पोखरा महानगरपालिका वडा नं.१७ स्थित गाईघाटमा फिर्केखोला र बुलौदीखोलाबाट बगेर तालमा आई जम्मा भएको गेग्रान (माटो र बालुवाको मिश्रण) निकाल्ने काम सुरु भएको छ।
सो क्षेत्रबाट महानगरपालिकाले करिब ४ हजार ५ सय ५० घनमिटर गेग्रान निकाल्ने कार्ययोजना योजना रहेको जनाएको छ ।
महानगर स्रोतका अनुसार खोला र तालको निकास प्रणाली सफा राख्न गेग्रानको नियमित निकासी अत्यावश्यक भएको यस कार्यको थालनी गरिएको हो ।
विषेशगरी खोलाबाट बगेर आउने माटो–बालुवा र फोहोरले जलाशयको क्षमता घटाउने भएकाले तत्कालै व्यापक सफाइ अभियान अघि बढाएका महानगरले जनाएको छ।
यस योजना अन्तर्गत निकासी काम सकिएपछि खोलामा फोहोरजन्य वस्तु र अतिरिक्त माटो र बालुवा रोक्न २३ मिटर लामो चेक ड्याम निर्माण गरिने छ।
यस चेक ड्यामले वर्षा मौसममा खोलाबाट बगेर आउने फोहोर रोक्ने र तालमा जम्मा हुने प्रदूषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नेछ।
विशेषज्ञहरूका अनुसार खोला सफाइ र चेक ड्याम निर्माणले केवल जलाशयको क्षमतामा सुधार ल्याउने मात्र नभई बाढी तथा तटीय कटानबाट हुने सम्भावित क्षतिबाट स्थानीय बासिन्दालाई पनि सुरक्षा प्रदान गर्नेछ ।
महानगरपालिकाले यस परियोजनालाई प्राथमिकतामा राख्दै वातावरण संरक्षण, जलाशयको क्षमता संरक्षण र स्थानीय बासिन्दाको जीवनस्तर सुधार्ने लक्ष्यसहित अघि बढाएको जनाएको छ।












