तराईमा हुस्सु हट्न समय लाग्ने, पोखरामा पनि बिहानीपख कुहिरोको कारण बढ्यो चिसो
  • प्रमुख खबर

पौष ९, पोखरा ।।
तराई क्षेत्रमा लागेको बाक्लो हुस्सु र कुहिरो तत्काल हट्ने संकेत नदेखिएको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कम्तीमा अझै तीन दिन तराई क्षेत्रमा हुस्सु र कुहिरो कायमै रहनेछ । जसकारण जनजीवन, स्वास्थ्य तथा सडक र हवाई यातायातमा थप असर पार्न सक्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्।

विभागले चिसो मौसमका कारण देखिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्ला केही दिनदेखि विशेषगरी तराईका धेरै ठाउँमा बिहान र बेलुकी बाक्लो हुस्सु र कुहिरो देखिँदै आएको छ।

यस्तो अवस्थामा न्यानो लुगा लगाउन, तातो झोलिलो खानेकुरा सेवन गर्न र चिसोबाट जोगिन सचेत रहन सुझाव दिइएको छ।

यस्तै मौसम पूर्वानुमान महाशाखाले बुधबार(आज) देशभर पश्चिमी वायुको आंशिक प्रभाव परेको जनाएको छ ।

यसका कारण तराई क्षेत्रमा हुस्सु तथा कुहिरो कायम रहने अनुमान छ भने पहाडी र हिमाली भेगमा मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै हिजो र आज बिहानीपख पोखरामा समेत कुहिरो लाग्न थालेको छ। कुहिरोका कारण यतिबेला पोखरामा पनि चिसो बढेको छ।

विषेशगरी मौसमविद्हरूले हुस्सु र कुहिरोका कारण दृश्यता घट्ने, सवारी साधन चलाउँदा जोखिम बढ्ने र स्वास्थ्यमा असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्