प्रेम र मानवताको सन्देश बोकेको क्रिसमस डे आज विश्वभर मनाइँदै
  • प्रमुख खबर

Oplus_131072

पौष १०, पोखरा ।।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा बिहीबार(आज)विश्वभर “क्रिसमस डे” उल्लासपूर्वक मनाइँदै छ ।

आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको विश्वास गरिन्छ ।

प्रेम, करुणा, क्षमा र मानवताका सन्देश फैलाएका येशु ख्रीष्टको जीवन र शिक्षालाई स्मरण गर्दै क्रिश्चियन धर्मावलम्बीहरूले यो दिवस विशेष रूपमा मनाउने गर्दछन् ।

नेपालमा पनि क्रिसमस डेलाई पछिल्ला वर्षहरूमा धार्मिक मात्र नभई सामाजिक र सांस्कृतिक पर्वका रूपमा मनाउन थालिएको छ ।

नेपालमा औपचारिक रूपमा २०६३ सालपछि क्रिसमस डे महोत्सवकै रूपमा मनाउन सुरु गरिएको हो ।

सरकारले २०६३ देखि २०७४ सालसम्म यस अवसरमा सार्वजनिक बिदा दिएको थियो । त्यसपछि २०७५ देखि २०७७ सालसम्म क्रिश्चियन धर्मावलम्बीहरूका लागि मात्र बिदा दिइयो ।

२०७८ सालदेखि भने पुनः सबैका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरिएको थियो । क्रिसमस डेको अवसरमा देशभरका चर्चहरूमा विशेष प्रार्थना सभा, भजन–कीर्तन र शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरिएका छन् ।

पछिल्लो समय नेपालका मुख्य शहर र पर्यटकीय क्षेत्रहरूमा क्रिसमसको रौनक अझै बढ्दै गएको छ । यस दिनले धार्मिक सहिष्णुता, आपसी सद्भाव र सांस्कृतिक विविधतालाई उजागर गरेको भन्दै विभिन्न समुदायका व्यक्तिहरूले एक–अर्कालाई शुभकामना आदान–प्रदान गर्ने गरेका छन् ।

नेपाल जस्तो बहु-धार्मिक र बहु-सांस्कृतिक देशमा क्रिसमस डेले आपसी सम्मान र सहअस्तित्वको सन्देश दिने विश्वास व्यक्त गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्