पौष १०, पोखरा ।।
पोखरासहित देशका धेरै स्थानमा मौसममा बदली आएको छ । मौसम बदलीका कारण बिहीबार(आज) बिहानै हुस्सु लागेको छ ।
यस्तै जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण धेरै ठाउँमा मौसम बदलिएको र तराईका धेरै भागमा हुस्सु तथा कुहिरो लागेको छ ।
हुस्सु तथा कुहिरोका कारण तराईको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्ने देखिएकोले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
सरकारले शीतलहर घोषणा नगरेको भएतापनि तराई र मधेशका धेरै ठाउँमा शीतसहितको हावा चलेको स्थानीयले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई क्षेत्रमा दिउँसोसम्म हुस्सु रहने छ ।
त्यस्तै पूर्वी तराईमा भने दिउँसो मौसम केहि खुल्ने सम्भावना भएपनि पारिलो घाम भने नलाग्ने बताइएको छ ।
हुस्सु र कुहिरोले जनजीवन प्रभावमा परेको कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।












