पौष ११, पोखरा ।।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा तराईका धेरै भू-भाग शुक्रबार(आज) पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ।
बिहानैदेखि लागेको कुहिरोका कारण तराई क्षेत्रको जनजीवन प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशका भू-भागमा बिहानको समयमा कुहिरो बाक्लो रहनेछ ।यसले बिहानको समयमा सडक तथा हवाई यातायातमा अवरोध आउनुका साथै सर्वसाधारणको दैनिकी र स्वास्थ्यमा समेत असर पार्न सक्ने मौसमविद्हरूको भनाइ छ ।
आज दिउँसो समेत तराईका धेरै स्थानमा हुस्सु र कुहिरो यथावत् रहने पूर्वानुमान गरिएको छ । यसैबीच कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली देखिएको छ ।
त्यस्तै आज पोखरामा मौसम अलि धमिलो रहने सम्भावना छ । दिउँसो तापमान केही बढे पनि राति ८ देखि ९ डिग्री सेल्सियससम्म घट्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन्।












