पौष ११, काठमाडौं ।।
नेपाली भलिबलको प्रतिष्ठित प्रतियोगिता नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप शुक्रबार (आज) देखि औपचारिक रूपमा शुरू हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आयोजना हुने प्रतियोगिता आज बिहान ९ बजेदेखि शुरू हुनेछ।
यो च्याम्पियनसिप केवल उपाधिका लागि मात्र नभई दशौँ पीएम कप एनभीए राष्ट्रिय लिगमा स्थान सुरक्षित गर्ने महत्वपूर्ण अवसर पनि हो।
प्रतियोगिताबाट शीर्ष ८ पुरुष टोली र शीर्ष ६ महिला टोली राष्ट्रिय लिगका लागि छनोट हुनेछन्। आज हुने यस प्रतियोगिताको पहिलो खेलमा महिला र पुरुष दुवै विधामा दुई–दुई खेल खेलाइनेछन्।
बिहान ९ बजेबाट शुरु हुने यस खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भलिबल संघ आमनेसामने हुनेछ । दोस्रो खेल बिहान ११ बजे एभरेष्ट भलिबल क्लब (बुटवल) र त्रिभुवन आर्मी क्लबबीच हुँदैछ ।
यस्तै पुरुषतर्फ दिउँसो १ बजे नेपाल पुलिस क्लब र ढोरपाटन स्पोट्र्स क्लब भिड्दै छ । त्यसलगत्तै टिपटप हेल्प नेपाल स्पोट्र्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
यस नवौँ संस्करणको च्याम्पियनसिपमा पुरुषतर्फ १२ टोली र महिलातर्फ ८ टोली सहभागी छन्।
पुरुषतर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफ जस्ता विभागीय टोलीसहित कर्णाली, लुम्बिनी, कोशी प्रदेशका क्लबहरू र काठमाडौं उपत्यकाका प्रशिक्षण केन्द्रहरूको सहभागिता रहेको छ।
महिलातर्फ विभागीय तीन टोली पुलिस, आर्मी, एपीएफसँगै न्यु डायमण्ड, एभरेष्ट बुटवल, चुली युवा क्लब, सुदूरपश्चिम र मधेश प्रदेश खेलकुद परिषद् सहभागी छन्।
समूह चरणमा महिला र पुरुष दुवैतर्फ १२–१२ खेल हुनेछन्। समग्रमा प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १६ गरी कूल ३६ खेल खेलाइनेछन्।
आयोजकका अनुसार प्रतियोगिताको महिला तथा पुरुष दुवै विधामा विजेताले ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।













