पौष १२, पोखरा ।।
पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखराका चर्चित व्याण्डहरु लेकाली र देउराली पनि गुञ्जिने भएका छन् ।
गत वर्ष पोखरामा आयोजित व्याक टु नाईन्टिजबाट जुर्मुराएका यी दुई व्याण्डहरु पुन: गुञ्जिने भएका हुन् ।

रेवान पोखराको आयोजनामा पोखराको लेकसाईडमा हुने पोखरा सडक महोत्सवको हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुकी न्यू ईयर ईभ विशेष कार्यक्रममा लेकाली र देउराली व्याण्डले पनि प्रस्तुती राख्ने सांगीतिक कार्यक्रम संयोजन गरिरहेको अल टेकनेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रममा लेकाली व्याण्डका गायक नवीन गुरुङ र भाई गुरुङले मुटुमा, पहिलो नजर, कहाँबाट, वनमा कस्तुरी, मुटु चिरी, पोखरेली नानी, सपनीमा अञ्जुली, नजाउन छाडीलगायतका गीतहरु प्रस्तुत गर्नेछन् ।
त्यस्तै देउराली व्याण्डको ढुंगे साँघुको मेलामा, लुकीचोरी, रेशम, दालभात तरकारीलगायतका गीतहरु प्रस्तुतगर्ने गुरुङले जानकारी दिए।
सो अवसरमा देउराली व्याण्डले लोक स्रष्टा स्वर्गिय कल्याण शेरचनको ‘सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हुँ भन्ने गीत समेत प्रस्तुत गर्ने उनले बताए।
सो दिन अहिलेकी भाईरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माको विशेष प्रस्तुती रहने जनाइएको छ ।
त्यस्तै गुरुङका अनुसार रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छीलगायतका गीतहरु प्रस्तुत गर्दैछन् ।
यससँगै गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको र्तिमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो ?लगायतका चर्चित गीतहरू प्रस्तुत गर्नेछन् ।
महोत्सव अन्तर्गतको यस कन्सर्टमा भाईरल गायक उज्जन शाक्यले पनि लाईभ प्रस्तुती दिनेछन् ।
महोत्सव अन्तर्गत तेस्रो दिन पुस १५ गते दिउँसो तमु (गुरुङ) समुदायको ल्होसार कार्यक्रम हुनेछ । जसमा अहिलेका चर्चित व्याण्डहरु स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुञ्जिने छन्।
लाईभ व्याण्ड प्रस्तुती हुने सो कार्यक्रममा अहिलेका लोकप्रिय कलाकार स्वप्न सुमनले जे छौं तिमी, कसरी उदाहरण दिउँ तिमीलाइ जस्ता चर्चित गीतहरु प्रस्तुत गर्ने छन् ।













