पौष १३, काठमाडौं ।।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईका धेरै स्थानहरूमा हुस्सु लागेको कारण त्यहाँको जनजीवन कष्टकर बनेको महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार आइतबार(आज) गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
यस्तै आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भू-भागमा भने आंशिक बदली रहनेछ।
त्यस्तै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति पनि तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–ई स्थानमा भने हल्का वर्षासहित हिमपातको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएको छ ।
पछिल्लो समय विषेशगरी तराई भू-भागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन कष्टकर बन्नुका साथै स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।












