निर्वाचनको बाटो खुला, अब कुनै दल पछि हट्दैन : सञ्चार मन्त्री खरेल
  • सरिता गुरुङ

Oplus_131072

पौष १३, पोखरा ।।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलहरूबीच निर्णायक र दृढ सहमति कायम भएको स्पष्ट पारेका छन्।

अब चुनावबाट पछि हट्ने कुनै पनि सम्भावना नरहेको भन्दै उनले मुलुक औपचारिक रूपमा निर्वाचनको बाटोमा प्रवेश गरिसकेको बताए।

आइतबार(आज) पोखरामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित र नेपाल पत्रकार महासंघ कास्कीको समन्वयमा “आमसञ्चारलाई व्यवसायीक बनाउन यस क्षेत्रमा विकसित नविनतम अवधारणा” विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री खरेलले शनिबार प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको सघन छलफलले चुनावमा जाने विषयलाई अन्तिम निष्कर्षमा पुर्‍याएको जानकारी दिए।

उनका अनुसार उक्त बैठकपछि राजनीतिक रूपमा अन्योल हटेको र अब चुनावमा जानुको विकल्प नभएको बताए।

उनले भने, “चुनावको विकल्प छैन, सबै दल लोकतान्त्रिक प्रक्रियामै अघि बढ्न पूर्ण रूपमा सहमत छन्।” मन्त्री खरेलले अब कुनै पनि दलले निर्वाचन प्रक्रियालाई अवरोध गर्ने अवस्था नरहेको दाबी गर्दै ठूला तथा मुख्य दलहरू चुनावी तयारीमा सक्रिय रूपमा जुटिसकेको बताए।

राजनीतिक सहमतिसँगै निर्वाचन प्रक्रिया व्यवहारिक चरणमा प्रवेश गरेको उल्लेख गर्दै उनले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्दसूची तयार गर्ने काम तीव्र गतिमा अघि बढिरहेको जानकारी दिए।

उनका अनुसार यही पौष १४ गतेभित्र बन्दसूची निर्वाचन आयोगमा पेश गर्ने तयारी भइरहेको छ । जसले निर्वाचनको औपचारिक माहोललाई थप स्पष्ट बनाएको छ।

विषेशगरी निर्वाचनले देशलाई सुशासन, समृद्धि र भ्रष्टाचारमुक्त दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्दै मन्त्री खरेलले भने, “निर्वाचनपछि जनताको मतबाट निर्वाचित नेतृत्वले मुलुकलाई विकास, स्थायित्व र लोकतान्त्रिक सुदृढीकरणको बाटोमा अघि बढाउनेछ।”

पछिल्लो समय राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियतामा प्रधानमन्त्री सुशीला कार्कीले गरेको शीर्ष दलहरूसँगको संवाद र सहमतिले निर्वाचनको मार्ग खुलेको भन्दै राजनीतिक वृत्तमा सकारात्मक सन्देश प्रवाह भएको छ।

यसले लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ भने देश नयाँ राजनीतिक स्थायित्वतर्फ उन्मुख हुने संकेत देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्