आज गुरुङ समुदायको नयाँ वर्ष तमु ल्होसार, हर्षउल्लासका साथ मनाइदै
  • प्रमुख खबर

पौष १५, पोखरा ।।
पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ आशा र ऊर्जासहितको सुरुवातको स्वागत गर्दै मंगलबार(आज) गुरुङ समुदायले तमु ल्होसार भव्य रूपमा मनाउँदै छन्।

गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ अर्थात् फेरिनु भन्ने बुझिन्छ ।वर्ष परिवर्तनको यही सांस्कृतिक दर्शन बोकेको तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष हो।

सूर्यको गति र प्रकृतिको चक्रसँग गहिरो सम्बन्ध रहेको यस पर्वको आफ्नै वैज्ञानिक र सांस्कृतिक महत्त्व छ।

गुरुङ जातिको बाहुल्य रहेका गण्डकी प्रदेशको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायतका जिल्लामा पौष महिनामा सूर्यको ताप पहिला पर्ने विश्वासका आधारमा तमु ल्होसार यही समयमा मनाइन्छ।

विषेशगरी पौष १५ गतेको रात वर्षकै सबैभन्दा लामो रात हो। यसपछि रात छोटिँदै र दिन लामो हुँदै जाने भएकाले तमु ल्होसारलाई उज्यालोको प्रतीकका रूपमा पनि लिइन्छ।

यस पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ। यस अवसरमा तमु धीं नेपालले पोखरामा लोसार पर्वको अवसर पारेर महोत्सव आयोजना गरेको छ ।

संस्कृति, प्रकृति र पहिचानलाई एकै सूत्रमा बाँध्ने तमु ल्होसार केवल पर्व मात्र नभई गुरुङ समुदायको इतिहास, जीवनदर्शन र सामूहिक उत्सवको प्रतिविम्ब भएको तमु धींले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्