पश्चिमी वायुको प्रभाव कायमै : तराई–मधेशमा हुस्सु, पोखरामा समेत बढ्यो चिसो
  • प्रमुख खबर

Oplus_131072

पौष १७, पोखरा ।।
जल तथा मौसम पूर्वानुमान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई–मधेशमा बिहीबार(आज) पनि हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो यसअघिको तुलनामा थोरै मात्रामा भए पनि तराईको आकाश खुल्ने महाशाखाले जनाएको छ । तर पूर्ण रूपमा हुस्सु र कुहिरो हट्ने अवस्था भने तत्काल नरहेको महाशाखाको भनाइ छ ।

आज राति पनि तराई–मधेशका धेरैजसो ठाउँमा हुस्सु कायमै रहने अनुमान गरिएको छ ।

यस्तै महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान छ ।

त्यस्तै आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

पौष महिना लागे लगत्तै तराई – मधेशमा लागेको हुस्सु र कुहिरोको कारण दैनिक जनजीवन कष्टकर बनेको छ।

यससँगै स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

हिजोको तुलनामा पोखरामा आज अलि चिसो बढेको छ। यस क्षेत्रमा समेत हुस्सु लागेको कारण चिसो बढेको महाशाखाले जनाएको छ।

आज बिहान पोखराको तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ भने साँझ पनि यस्तै रहनेछ । तर दिउँसो तापमान केही वृद्धि हुने महाशाखाले बताएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्