पोखरामा चार दिन बिहानै पाँच घण्टा विद्युत् आपूर्ति बन्द गरेर बजारका अव्यवस्थित तार हटाइँदै
  • प्रमुख खबर

पौष १८, पोखरा ।।
पोखरामा शुक्रबार(आज)देखि लगातार चार दिनसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान ६ बजेदेखि ११ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

प्राधिकरणले बिहीबार सूचना जारी गर्दै विद्युत आपूर्ति बन्दबारे जानकारी दिएको हो ।

कुँडहर सबस्टेशनको १ सय ३२ केभी बसबार स्तरोन्नति कार्यका कारण विद्युत् आपूर्ति प्रभावित हुन लागेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले स्तरोन्नति कार्य सुरक्षित र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्ने भएकाले अस्थायी रूपमा लाइन बन्द गर्नुपरेको जनाएको छ।

यस अवधिमा विजयपुरदेखि हरिचोकसम्मका अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ। विशेषगरी व्यापारिक क्षेत्र, आवासीय बस्ती तथा सेवा केन्द्रहरूमा विद्युत् नहुँदा असुविधा हुन सक्ने भन्दै प्राधिकरणले सर्वसाधारणलाई आवश्यक तयारी गर्न आग्रह समेत गरेको छ।

यस्तै पोखरा महानगरपालिकाले बजार क्षेत्रलाई ताररहित बनाउने योजनालाई तीव्रता दिएको छ। महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई बजार क्षेत्रमा अव्यवस्थित रूपमा झुन्डिएका तारहरू एक महिनाभित्र हटाउन आग्रह गरेको छ।

सडकका पोलहरूमा जथाभावी रहेका इन्टरनेट तथा केबलका तारहरूले शहरको सौन्दर्यमा कुरुपता देखिनुका साथै दुर्घटनाको जोखिम समेत बढाएको महानगरले जनाएको छ । जसकारण महानगरले निर्धारित समयभित्र तार व्यवस्थापन गर्न आग्रह गरेको छ ।

यदि यसलाई अटेर गरी समयसीमा भित्र नगरे कानुनी कारबाहीसमेत गरिने चेतावनी दिएको छ। त्यस्तै नेपाल विद्युत् प्राधिकरणले पोखराको शहरी क्षेत्रमा तार भूमिगत गर्ने परियोजना अन्तर्गत हालसम्म करिब ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ।

प्राधिकरणका अनुसार कुल २३ किलोमिटर क्षेत्रभित्र विद्युत् र अन्य तारहरू भूमिगत गर्ने योजना रहेको छ। यो परियोजना सम्पन्न भएपछि सडकमा झुन्डिएका तारहरू हट्ने, विद्युत् सेवा थप सुरक्षित हुने र पोखराको शहरी सौन्दर्य उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्