तराईमा बाक्लो हुस्सु, पोखरासहित पहाडी क्षेत्रमा चिसो बढ्दो
  • प्रमुख खबर

Oplus_131072

पौष २१, पोखरा ।।
तराईका धेरैजसो क्षेत्रमा सोमबार(आज) पनि बिहानदेखी बाक्लो हुस्सु र कुहिरो लागेको छ। विशेषगरी बाँकेको नेपालगञ्जमा अत्यन्तै बाक्लो हुस्सु देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार नेपालगञ्जमा भिजिबिलिटी घटेर मात्र ५० मिटरमा सीमित भएको छ। यस्तै भैरहवामा पनि भिजिबिलिटी १ सय मिटर मापन गरिएको छ।

बाक्लो हुस्सुका कारण तराई क्षेत्रमा सडक तथा हवाई यातायात प्रभावित भएको छ भने जनजीवन, पर्यटन र स्वास्थ्य सेवामा पनि प्रत्यक्ष असर परेको छ।

त्यस्तै गण्डकी प्रदेशको प्रमुख शहर पोखरामा पनि चिसो क्रमशः बढ्दै गएको छ। केही दिन यता बिहान र बेलुकाको समयमा कुहिरोको कारण चिसो बढेसँगै यस समय स्वास्थ्यको विशेष ध्यान दिन मौसमविद्ले जानकारी दिएका छन्।

यसैबीच मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ। आज पनि एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले चिसोबाट बच्न यतिबेला विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई न्यानो कपडा प्रयोग गर्न, बिहान–बेलुका चिसोबाट जोगिन र आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्