पौष २१, काठमाडौं ।।
आइतबार सामान्य गिरावट देखिएको सुनचाँदीको मूल्यमा सोमबार(आज) एकैपटक ४ हजार ६ सय रुपैयाँले वृद्धि हुँदा बजार तातेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ६ सय रुपैयाँले वृद्धि हुँदै २ लाख ६५ हजार रुपैयाँ पुगेको छ।
हिजो मात्रै सुनको भाउ तोलामा २ हजार १ सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा झरेको थियो। तर आज एकैदिनमा भएको उल्लेखनीय वृद्धिले बजारमा पुनः चहलपहल देखिएको छ।
अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, डलरको मूल्य र लगानीकर्ताको मागले सुनको भाउमा प्रभाव पारेको व्यवसायीहरू बताउँछन्।
विशेषगरी पछिल्लो समय सुरक्षित लगानीको रूपमा सुनप्रति आकर्षण बढ्दै गएको छ। यही कारणले मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको विश्लेषकहरूको भनाइ छ।
यस्तै चाँदीको मूल्य पनि आज उल्लेखनीय रूपमा बढेको छ। आज चाँदी तोलामा १ सय ८५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
हिजो भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।












