पौष २२, पोखरा ।।
पोखरासहित देशका विभिन्न भागमा चिसो बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तराई र पहाडी जिल्लाका धेरै स्थानमा केही दिनयता घाम राम्रोसँग लाग्न नसक्दा जाडोको प्रभाव झन् तीव्र बनेको छ।
बाक्लो हुस्सु, कुहिरो र शीतका कारण जनजीवन कष्टकर बन्दै गएको छ। हिजो र अस्तिको तुलनामा मंगलबार (आज) तापक्रम अझै घटेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज बिहान पोखराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो पोखरामा न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस र अस्ति आइतबार ७ डिग्री सेल्सियस रहेको थियो।
पोखरासँगै तराई/मधेश तथा अन्य पहाडी क्षेत्रमा पनि चिसो बढेको छ। विशेषगरी तराईका जिल्लामा निरन्तरको बाक्लो हुस्सु र कुहिरोका कारण दैनिकी प्रभावित हुँदै आएको छ।
चिसोका कारण विपन्न वर्ग र दैनिक ज्यालादारी मजदुरहरू बढी मर्कामा परेका छन्। विषेशगरी चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बिरामी पर्ने क्रम पनि बढ्दै गएको छ।
तराईका झापा, रौतहट, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया लगायतका जिल्लामा बाक्लो कुहिरो र हुस्सुले यातायात, स्वास्थ्य र जनजीवनमा प्रत्यक्ष असर पारेको छ।
मौसमविद्हरूले अझै केही दिन चिसो यथावत् रहने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।












