राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिकसँगै इतिहासमै पहिलोपटक टि–२० विश्वकप ट्रफी नेपालमा
  • प्रमुख खबर

पौष २३, काठमाडौं ।।
नेपाली क्रिकेटमा नयाँ उत्साह थपिएको छ। राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी औपचारिक रूपमा सार्वजनिक भएसँगै यसले छुट्टै उत्साह जगाएको हो ।

विषेशगरी सार्वजनिक गरिएको नयाँ जर्सीले नेपाली क्रिकेटको आत्मविश्वास, राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धात्मक सोचलाई प्रतिबिम्बित गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।

यस जर्सीमा महिला राष्ट्रिय टोलीले आउँदो हप्तादेखि सुरु हुने महिला टि–२० विश्वकप छनोट खेल्नेछ भने पुरुष टोलीले अर्को महिना भारतमा आयोजना हुने आईसीसी टि–२० विश्वकपमा यही जर्सीमा देशको प्रतिनिधित्व गर्नेछ।

यसैबीच नेपाली क्रिकेट इतिहासकै अर्को ऐतिहासिक क्षणका रूपमा आईसीसी टि–२० विश्वकप २०२६ को ट्रफी नेपाल आइपुगेको छ।

यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको भएपनि टि–२० विश्वकप ट्रफी नेपाल आएको यो पहिलोपटक हो ।

‘ट्रफी टुर’ अन्तर्गत सोमबार(आज) पोखरामा फोटोशूट, काठमाडौंको वसन्तपुर क्षेत्रमा ट्रफी प्रदर्शनी र भोलि बौद्धनाथ स्तूप परिसरमा ट्रफी प्रदर्शन गरिने क्यानले जनाएको छ ।

टि–२० विश्वकपको १०औं संस्करण फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा सुरु हुनेछ। मार्च ८ मा फाइनल खेल हुनेछ।

नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा नेपाली टोलीले इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्