पौष २६, पोखरा ।।
राष्ट्रिय एकताको प्रतीक तथा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवस यस वर्ष पनि विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने भएको छ।
कास्की जिल्ला निवासी नागरिकहरूको पहलमा हुन लागेको यस कार्यक्रम भोलि आइतबार शोभायात्रा, सांस्कृतिक प्रस्तुति, बौद्धिक विमर्श तथा माल्यार्पण कार्यक्रमसहित आयोजना हुने हिजो पत्रकार सम्मेनलान गरी जानकारी दिएको छ।
आयोजकका अनुसार मौलिक रैथाने इतिहासका ज्ञाता तथा अन्तर्राष्ट्रिय विश्व हिन्दु महासंघ धर्मसभाका अध्यक्ष वलभद्रनाथ योगिको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा कास्की जिल्लाभित्र क्रियाशील सामाजिक, धार्मिक, शैक्षिक तथा पेशा–व्यवसायगत संघ–संस्थाहरूको उल्लेख्य सहभागिता रहने छ।
यस कार्यक्रम अन्तर्गत भोलि आइतबार अपरान्ह ११ बजे कास्की जिल्लामा रहेका विभिन्न संघ–संस्थाहरू आ–आफ्ना ब्यानर, झण्डा तथा मौलिक भेषभूषासहित पोखराको मानवअधिकार चोक (चिप्लेढुंगा) मा भेला हुनेछन्।
यस्तै ११ः३० बजे उक्त भेलालाई पञ्चेबाजा, भजन–चुड्का, झाँकी तथा सांस्कृतिक नाचगानसहितको भव्य शोभायात्रामा परिणत गर्दै पृथ्वीचोकस्थित कार्यक्रम स्थलसम्म लैजाने तयारी गरिएको छ।
१२ः३० बजे पृथ्वीचोकमा आयोजना हुने मूल समारोहमा उपस्थित महानुभावहरूलाई सम्बोधन गरिनेछ। सो अवसरमा नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरिनुका साथै प्राज्ञिक व्यक्तित्वहरूबाट उनको योगदान, राष्ट्रिय एकता र राष्ट्र निर्माणमा उनले निर्वाह गरेका ऐतिहासिक भूमिकामाथि चर्चा–परिचर्चा गरिने आयोजकले जनाएको छ।
कार्यक्रम संयोजक भौलाजग सुवेदीले आजको एकीकृत, स्वाधीन र सार्वभौम नेपाल कुनै आकस्मिक इतिहासको परिणाम नभई दूरदर्शी नेतृत्व, अदम्य साहस र असाधारण रणनीतिक क्षमताको उपज भएको बताउँदै यस ऐतिहासिक यात्राका केन्द्रीय एक मात्र पात्र नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाह भएको बताए।
उनले पृथ्वीनारायण शाहले विश्वको राजनीतिक मानचित्रमा नेपाललाई स्वतन्त्र, सार्वभौम र अखण्ड राष्ट्रका रूपमा स्थापित गर्न पुर्याएको योगदान अतुलनीय भएको बताए ।
यस्तै कार्यक्रमका सचिव भुपेन्द्र गिरीका अनुसार बदलिँदो राजनीतिक व्यवस्था, चुनौतीपूर्ण विश्व व्यवस्था र आन्तरिक विभाजनका बीच पनि पृथ्वीनारायण शाहका विचारहरूले नेपाली समाजलाई एकताबद्ध रहने प्रेरणा दिन्छन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस केवल औपचारिक समारोह मात्र होइन, राष्ट्र निर्माणका मूल्य, इतिहासबोध र भावी पुस्तामा राष्ट्रिय चेतना हस्तान्तरण गर्ने अवसर भएको संयोजक सुवेदीले स्पष्ट पारे।
उनले नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्नु भनेको स्वतन्त्र नेपालप्रतिको जिम्मेवारी सम्झनु भएको र त्यो जिम्मेवारी आजका हरेक नेपालीको काँधमा उत्तिकै गह्रौँ र गौरवपूर्ण भएको उल्लेख गरे ।
यस्तै नेपालीहरूको शौर्य, पराक्रम, स्वाभिमान र राष्ट्रिय एकताको भावना विस्तारमा उनको भूमिका ऐतिहासिक रहँदै आएको बताउँदै यस्ता महान व्यक्तित्वहरूको स्मरणमा जन्मजयन्ति मनाउनु वैदिक संस्कृति तथा नेपालीहरूको मौलिक परम्पराको अभिन्न हिस्सा भएको आयोजकको भनाइ छ।
विषेशगरी यस राष्ट्रिय एकता दिवसलाई सभ्य, भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्न समाजका सबै वर्ग, संघ–संस्था तथा नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।
उनले राष्ट्र निर्माणमा एकताको सन्देश फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे। यस कार्यक्रमका प्रमुख संरक्षकका रूपमा चिदुन चैतन्य महाराज रहेको आयोजकले जनाएको छ।
आयोजकले राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने यस ऐतिहासिक कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन सबैमा अपिल समेत गरेको छ।












