पौष २८, पोखरा ।।
हाल नेपालमा उपल्लो वायुमण्डलमा विकसित भएको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावकाबीच पनि सोमबार(आज) देशभरको मौसमी अवस्था मुख्यतया सफा रहेको छ ।
हाल देशका अधिकांश भू–भागमा आकाश खुला रहेको छ । तराई भू–भागका थोरै स्थानहरूमा बिहान तथा रातिको समयमा हुस्सु देखिने सम्भावना रहेको छ ।
हुस्सुका कारण त्यहाँको दैनिक जनजीवन प्रभावित बनेको छ भने विशेषगरी सवारी साधन सञ्चालनमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यस्तै देशका पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा दृश्यता राम्रो रहेकोले दैनिक जनजीवन, पर्यटन तथा हवाई उडानमा खासै असर पर्ने देखिएको छैन ।
त्यस्तै पर्यटनको राजधानी पोखरामा आज पनि मौसम मुख्यतया सफा रहेको छ । बिहानको समयमा हल्का चिसो महसुस भए पनि दिनभर आकाश खुला रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पोखरामा वर्षाको सम्भावना न्यून रहेको छ भने बिहानैदेखि यहाँ घाम लागेको र दिउँसो तापक्रम सामान्य अवस्थामा रहने अनुमान गरिएको छ ।
यसैबीच महाशाखाका अनुसार आगामी २४ घण्टासम्म देशभर उल्लेखनीय मौसमी प्रणालीको विकास नहुने देखिएकाले हालकै जस्तै मौसम अवस्था कायम रहने सम्भावना छ ।
तराई क्षेत्रमा बिहानको हुस्सु तथा चिसोका कारण स्वास्थ्य र यातायातमा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ ।












