पौष २८, पोखरा ।।
युनाइटेड क्लब पोखरा एउटा यस्तो क्लब हो जसले पोखराको सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्रमा गरिएको योगदानका कारण आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
युवाको ऊर्जा, सोच र नेतृत्वलाई राष्ट्र निर्माणसँग जोड्ने स्पष्ट उद्देश्यका साथ स्थापना गरिएको यस क्लब आज सेवा, समर्पण र सकारात्मक परिवर्तनको प्रतीक बनेको छ।
यो कुनै साधारण संस्था होइन युवाको संकल्प, श्रम र समाजप्रतिको जिम्मेवारीबाट जन्मिएको साझा अभियान हो।
यही संकल्पको जीवन्त प्रतिबिम्ब हो पोखरा महोत्सव । यस क्लबले आयोजना गर्दै आएको पोखरा महोत्सव केवल व्यापार र मनोरञ्जनको मेला मात्र होइन, यो शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन र संस्कृतिको प्रवर्द्धनलाई एउटै मञ्चमा जोड्ने एउटा सामाजिक कार्य पनि हो।
महोत्सवमार्फत संकलित स्रोतलाई पुनः समाजमै लगानी गर्दै क्लबले सामुदायिक विद्यालयमा छात्रवृत्ति, स्वास्थ्य सेवा, खेलकुद प्रतिभा प्रोत्साहन र पोखराको पर्यटन पहिचान बलियो बनाउने कार्यलाई निरन्तरता दिएको छ।
यही क्लबको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुँदै आइरहेको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।
क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी १४औं संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
“युवाको जाँगर, राष्ट्र निर्माणको आधार” भन्ने मूल नारासहित आयोजना हुँदै आएको महोत्सव यस वर्ष पौष २९ भोलिदेखि माघ ११ गतेसम्म अमरसिंह माविको खेल मैदानमा सञ्चालन हुनेछ ।
महोत्सवले व्यापार, मनोरञ्जन र सामाजिक सेवालाई एउटै मञ्चमा जोड्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
महोत्सवमा व्यापारिक स्टल, हस्तकला तथा घरेलु उद्योग, फुड स्टल, शिक्षा, परामर्श तथा सूचना स्टल,
सौन्दर्य, फेसन र जीवनशैली, बाल उद्यान, स्वास्थ्य तथा सामाजिक सेवाका स्टल लगायत करिब २ सय ५० स्टल रहनेछन् ।
यस्तै महोत्सवमा २ लाखदेखि २ लाख ५० हजारसम्म दर्शक आउने अपेक्षा गरिएको छ। यस महोत्सवका कार्यक्रम संयोजक दिनेश सुनारका अनुसार यस वर्षको महोत्सव थप आकर्षक, प्रविधिमैत्री र उपभोक्तामुखी बनाइएको छ।
उनका अनुसार महोत्सवमा टिकटक प्रतियोगिता हुनेछ । जसअन्तर्गत टिकटक लाइकको आधारमा प्रथम हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
यसका साथै महोत्सवबाट सामग्री खरिद गर्ने उपभोक्तामध्ये भाग्यशाली विजेताहरूले बेटर एप्लायन्सका आकर्षक उपहार जित्न सक्नेछन्।
जसमा प्रथम हुनेले १ टनको बेटर एसी, दोस्रो हुनेले १५ लिटरको वाटर डिस्पेन्सर/मोनाको गिजर, तेस्रोले बेटर बेथ ९० ग्लास हुड चिम्नी, चौथोले रेडियान्ट भ्याकुम क्लिनरको साथै कन्सोलेसन पुरस्कारमा एमिनेट एयर फ्रायर प्राप्त गर्ने छन् ।
त्यस्तै बन्दीपुर केबलकार एण्ड टुरिजम प्रा.लि. ले प्रत्येक दिन २ जनालाई निःशुल्क केबलकार टिकट उपलब्ध गराउनेछ।
महोत्सव अन्तर्गत विविध सांगीतिक कार्यक्रम समेत रहनेछ । जहाँ देशका चर्चित तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति दर्शकहरुले हेर्न पाउनेछन्।
संयोजक सुनारका अनुसार लोकदोहोरी तथा आधुनिक गायनतर्फ रवि कार्की, शान्तिश्री परियार, बद्री पंगेनी, प्रकाश सपुत, समिक्षा अधिकारी लगायतको प्रस्तुति रहनेछ।
लाइभ कन्सर्टतर्फ भने लाउरे, डी मर्चा, अनुप्रस्था, दुर्गेश थापा, सबिन राई एण्ड द फ्यारो, भिटेन, रकहेड्स लगायत चर्चित ब्यान्डहरू धमाकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सव अवधिभर मेडिप्लस हस्पिटलबाट प्राथमिक उपचार, कान्तिपुर डेन्टल हस्पिटलबाट दैनिक निःशुल्क दाँत परीक्षण गरिनेछ। त्यसैगरी विभिन्न साझेदार संस्थाबाट भाषा कक्षा, ब्युटी कोर्स, फुड आइटममा विशेष छुटको व्यवस्था गरिएको छ।
आयोजकका अनुसार विषेशगरी यस महोत्सव प्रवेशको लागि टिकट रेभल एप मार्फत अनलाइन बुकिङ गर्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै शारीरिक अशक्त, वृद्धवृद्धा, एकल महिला, विदेशी पर्यटक तथा ५ वर्ष मुनिका बालबालिकालाई महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
महोत्सव सञ्चालनबाट उठेको केही प्रतिशत रकमलाई क्लबले विभिन्न सामाजिक कार्यसँगै पोखरामा खुला चिडियाखानाको सपना साकार बनाउन अग्रणी भूमिका समेत निभ्याएको छ ।
उक्त चिडियाखानाको लागि क्लबले ५८ लाख ८५ हजार रुपैयाँ सहयोग गर्दै केवल संरचना निर्माणमा मात्र नभई, वन्यजन्तु संरक्षण र पर्यावरणीय शिक्षामा पनि योगदान गरेको छ।
यस सहयोगले चिडियाखाना भन्ने बित्तिकै एउटा रमाइलो र मनोरञ्जनको स्थल मात्र नभई शिक्षा र चेतनाको केन्द्र बन्ने सुनिश्चित गरेको छ।
यससँगै आगामी शैक्षिक सत्रदेखि पोखरा–२७ अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क आवासीय छात्रावास सञ्चालन गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष लोबहादुर थापाले जानकारी दिएका छन्।
विषेशगरी व्यापार, मनोरञ्जन, शिक्षा र सामाजिक सेवाको संगमका रूपमा १४औँ पोखरा महोत्सव यस वर्ष पनि पोखराको प्रमुख आकर्षण बन्ने उनको विश्वास छ।












