माघे सङ्क्रान्ति पर्वसँगै राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाइँदै
  • प्रमुख खबर

माघ १, काठमाडौं ।।
बिहीबार(आज) माघ १ गते, देशभर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ।

यही दिनदेखि उत्तरायण शुरू हुने भएकोले क्रमशःदिन लम्बिँदै र रात छोटिँदै जान्छन्। धार्मिक मान्यता अनुसार उत्तरायण शुरू हुने दिन स्नान, जप, तप, ध्यान, साधना तथा दानलाई विशेष पुण्यदायी मानिन्छ।

यही विश्वासका कारण आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका पवित्र नदी तथा तीर्थस्थलमा माघ स्नान गर्ने भक्तजनको ठूलो भीड लागेको छ।

यी स्थानहरूमा माघे सङ्क्रान्तिका अवसरमा विशेष मेला पनि लाग्ने गर्छन्। तराई क्षेत्रका बासिन्दाले माघ १ गतेलाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउने परम्परा छ।

यस दिन शुद्ध स्नान गरेर नयाँ ऊर्जा र आरोग्यको कामना गरिन्छ। माघे सङ्क्रान्तिमा घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडीलगायतका परिकार खाने चलन रहिआएको छ।

चिसो मौसममा शरीरलाई न्यानो प्रदान गर्ने यस्ता परिकार स्वास्थ्यका लागि उपयोगी मानिन्छन्। विभिन्न ठाउँमा पुसको अन्तिम दिन पकाएर राखिएको तरुल माघमा खाने परम्परा पनि छ ।

आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा शरीरका दूषित पदार्थ बाहिर निस्कने र स्वास्थ्य लाभ हुने जनविश्वास छ।

त्यस्तै आज माघे सङ्क्रान्तिकै अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउँदैछ।

माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गर्ने परम्परालाई जोड दिँदै गएको वर्षदेखि यो दिवस मनाउन थालिएको हो।

यसले देशको मौलिक कृषि जैविक विविधता संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विषेशगरी माघे सङ्क्रान्ति पर्वले धार्मिक, सांस्कृतिक र स्वास्थ्यसँगै कृषि जैविक विविधताको महत्वलाई समेत उजागर गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्