सरकारद्वारा नगदभन्दा डिजिटललाई प्राथमिकता : आजदेखि ५ लाखको सीमा
  • प्रमुख खबर

Oplus_131072

माघ १, काठमाडौं ।।
सरकारले नगद कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन बिहीबार(आज)देखि एक व्यक्तिसँग हुने नगद कारोबारको सीमा ५ लाख रुपैयाँसम्म तोकेको छ।

मंसिर १६ गते मन्त्रिपरिषद्द्वारा गरिएको उक्त निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाले अब एउटै व्यक्तिसँग एक पटकमा ५ लाख रुपैयाँभन्दा बढी नगद कारोबार गर्न पाउने छैनन्।

यसअघि यस्तो सीमा १० लाख रुपैयाँ रहेको थियो। नयाँ व्यवस्थाअनुसार कुनैपनि व्यक्तिले बैंक वा वित्तीय संस्थाबाट एक पटकमा ५ लाख रुपैयाँभन्दा बढी नगद झिक्न पाउने छैनन्।

त्यस्तै कुनैपनि सामान वा सेवाको खरिद–बिक्री गर्दा पनि ५ लाख रुपैयाँभन्दा बढी रकम नगदमै लेनदेन गर्न नपाइने व्यवस्था लागू गरिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अत्यधिक नगद कारोबारले अवैध आर्थिक गतिविधि, कर छल्ने प्रवृत्ति तथा कालोधनको जोखिम बढाउने भएकाले यस्तो निर्णय गरिएको हो।

नगदमा हुने कारोबारलाई सीमित गर्दै डिजिटल, विद्युतीय तथा अनलाइन भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको छ। यद्यपि यो व्यवस्था सबै किसिमका कारोबारमा लागू भने हुने छैन।

बैंक तथा वित्तीय संस्थामा नगद निक्षेप जम्मा गर्न, कर्जा सावाँ–ब्याज भुक्तानी गर्न भने जतिसुकै रकम पनि नगदमै तिर्न सकिनेछ।

त्यसैगरी बैंकहरूबीच हुने अन्तरबैंक कारोबारमा पनि रकमको कुनै सीमा तोकिएको छैन। नयाँ नियममा केही महत्वपूर्ण अपवादहरू पनि राखिएका छन्।

रेमिट्यान्स कम्पनी, सहकारी संस्था, पूर्वाधार आयोजना, जलविद्युत्, सडक तथा सञ्चार क्षेत्रसँग सम्बन्धित कारोबारका साथै ती क्षेत्रमा कार्यरत कर्मचारी तथा श्रमिकको पारिश्रमिक र ज्याला भुक्तानीका लागि भने तोकिएको सीमाभन्दा बढी नगद कारोबार गर्न पाइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्