माघ ७, पोखरा ।।
२०औँ राष्ट्रिय जुडो प्रतियोगितामा गण्डकी प्रदेशका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै तीन पदक जित्न सफल भएका छन्।
नेपाल जुडो महासंघको आयोजनामा काठमाडौंको राजधानी हेटौडामा माघ ३ देखि ५ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा गण्डकीलाई दुई रजत र एक कांस्य पदक प्राप्त भएको हो ।

विभिन्न तौल समूह अन्तर्गत भएको सो प्रतियोगितामा पुरुषतर्फ – १०० केजी तौल समूहमा विज्ञान टी. खत्री र महिलातर्फ -७८ केजी तौल समूहमा मनिषा तामाङले रजत पदक प्राप्त गरेका छन् भने महिलातर्फ नै -७० केजी तौल समूहमा उमङ्ग राजवंशीले कांस्य पदक प्राप्त गर्दै गण्डकी प्रदेशलाई राष्ट्रिय मञ्चमा पूर्न एकपटक चिनाएका छन्।
यी तीनै खेलाडीहरू स्वयंसेवक प्रशिक्षक रवि चौधरीको प्रशिक्षणमा प्रतियोगितामा सहभागी भएका थिए। सीमित स्रोतसाधन र कठिन परिस्थितिका बाबजुद चौधरीको निरन्तर मेहनत, समर्पण र मार्गदर्शनले खेलाडीहरूलाई पदकसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेको खेलप्रेमीहरूको भनाइ छ।
विशेषगरी अन्य प्रदेशका खेलकुद संघहरूले यस प्रतियोगितामा सहभागी हुन आ–आफ्ना प्रदेश खेलकुद परिषद्बाट सहयोग प्राप्त गरेको अवस्थामा प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशबाट भने कुनै पनि किसिमको सहयोग प्राप्त नभएको गण्डकी जुडो संघले जनाएको छ ।
अन्य खेलकुदका संघहरूलाई विभिन्न प्रतियोगितामा सहभागी हुन प्रदेश खेलकुद परिषद् , गण्डकीबाट आर्थिकदेखि लिएर भौतिक सहयोग दिइरहेको अवस्थामा गण्डकी जुडो संघलाई भने यस प्रकारको कुनैपनि राष्ट्रिय प्रतियोगितामा सहभागी हुन हालसम्म सहयोग नदिएको यस तथ्यले प्रदेश खेलकुद परिषद्, गण्डकीले खेलकुद क्षेत्रमा समानता, न्याय र समन्वयको सिद्धान्तअनुसार व्यवहार नगरेको तथा केही खेलसंघप्रति विभेदपूर्ण र उपेक्षापूर्ण दृष्टिकोण अपनाएको स्पष्ट देखाउँछ।
प्रशिक्षक चौधरीका अनुसार परिषद्को यस व्यवहारले यसले ओलम्पिक मान्यता प्राप्त जुडो खेलको दीर्घकालीन विकासमै गम्भीर अवरोध सिर्जना गर्ने, खेलाडीको मनोबल खस्किने, नयाँ प्रतिभा निरुत्साहित हुने तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा गण्डकी प्रदेशको उपस्थितिलाई कमजोर बनाउने पनि बताए ।
उनले यसभन्दा अघिपनि १९औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदा समेत परिषदद्वारा कुनै सहयोग प्राप्त नभएको तर त्यस समय पनि यस प्रदेशका लागि २ रजत र ४ कांस्य पदक दिलाउन सफल भएको बताए ।
परिषद्को सहयोग बिना समेत खेलाडीहरूले हासिल गरेको यो सफलता अझै प्रशंसनीय मानिएको छ। खेलाडी र प्रशिक्षकको व्यक्तिगत प्रयाससंगै संघको सहयोगबाट प्राप्त यो उपलब्धिले गण्डकी प्रदेशमा जुडो खेलको सम्भावना बलियो रहेको संकेत दिएको छ।
राज्यस्तरबाट समयमै आवश्यक सहयोग, प्रशिक्षण र पूर्वाधार उपलब्ध गराइएमा गण्डकीले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सक्ने क्षमता राख्ने पनि चौधरीले बताए ।













