हिउँको बाक्लो तह हटाउँदै प्रशासन, मुक्तिनाथ मार्गमा आवागमन सुरु
  • प्रमुख खबर

Oplus_131072

माघ १६, मुस्ताङ ।।
लगातारको हिमपातले अस्तिदेखि पूर्ण रूपमा ठप्प बनेको मुस्ताङको कागबेनी–मुक्तिनाथ सडक पुनः सञ्चालनमा आएको छ।

जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सक्रिय पहलपछि अवरुद्ध भएको सडक खुलाइएसँगै स्थानीय बासिन्दा र तीर्थयात्रीले राहत महसुस गरेका छन्।

मौसममा आएको परिवर्तनका कारण मुक्तिनाथ जाने करिब १२ किलोमिटर कालोपत्रे सडक बाक्लो हिउँले ढाकिँदा आवागमन पूर्ण रूपमा बन्द भएको थियो।

डोजर र जनशक्तिको सहयोगमा हिजो दिउँसोदेखि सफाइ कार्य सुरु गरिएको थियो, जसका कारण शुक्रबार (आज)सडक खुलाउन सफल भएको हो। तर सडक खुले पनि जोखिम भने हटेको छैन।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार घाम नलाग्ने ओसिला स्थानमा हिउँ ढुङ्गाजस्तै कडा भएर जमेकाले सवारी साधनलाई उकालो चढ्न अझै कठिन भइरहेको छ। चिप्लो सतहका कारण दुर्घटनाको सम्भावना रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्