माघ १८, पोखरा ।।
कास्की जिल्लामा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन प्रशासनले यसको तयारीलाई तीव्र पारेको छ।
जिल्लाभर रहेका १ सय ५३ वटा मतदानस्थलहरूको स्थलगत अनुगमन, पूर्वाधार सुधार र सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै व्यापक तयारी अघि बढाइएको हो।

यसै क्रममा शनिबार प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत, जिल्ला सुरक्षा समिति, स्थानीय जनप्रतिनिधि तथा अन्नपूर्ण गाउँपालिका अध्यक्षसहितको संयुक्त टोलीले पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकाका विभिन्न मतदानस्थलहरूको निरीक्षण गरेको छ।
उक्त टोलीले पोखरा-१८, २४ तथा अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर १, २, ३, ५ र ६ का आठ मतदानस्थलमा पुगेर भौतिक पूर्वाधार, सुरक्षा प्रबन्ध, पहुँच सुविधा र मतदाता–मैत्री वातावरणको सूक्ष्म मूल्याङ्कन गरेको थियो।
अनुगमनका क्रममा शौचालय, खानेपानी, प्रतीक्षालय, विद्युत् सेवा, अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री पहुँच, सुरक्षाकर्मी परिचालन, भीड व्यवस्थापन र आपतकालीन निकास जस्ता आधारभूत पक्षमा विशेष ध्यान दिइएको थियो।
केही स्थानमा संरचना मर्मत, संकेत बोर्ड थप, छायाँमा बस्ने व्यवस्था विस्तार तथा सुरक्षा घेराबन्दी सुदृढ गर्नुपर्ने देखिएपछि तत्काल सुधारका लागि स्थानीय तहसँग समन्वय सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी शिव लम्सालले निर्वाचनलाई विश्वसनीय बनाउन पूर्वतयारी नै मुख्य आधार भएको उल्लेख गर्दै भने,“सबै मतदानस्थल न्यूनतम मापदण्ड पूरा गराउने लक्ष्यका साथ काम भइरहेको छ।”
सुरक्षा व्यवस्थालाई अझ मजबुत बनाउन प्रशासनले निर्वाचनतर्फ केन्द्रित हुँदै २ हजार ८ जना निर्वाचन प्रहरी र २ सय ९५ जना सशस्त्र प्रहरी बल परिचालन गर्ने तयारी गरेको छ। उनीहरूलाई आजैदेखि नियुक्ति दिइएको छ।
यसबाहेक नियमित रूपमा सुरक्षा प्रधान गर्दै आएका सुरक्षाकर्मीसमेत परिचालन हुने र केन्द्रबाट प्राप्त सुरक्षा योजनाअनुसार सुरक्षाको तहगत व्यवस्था मिलाइने प्रशासनले स्पष्ट पारेको छ।
माघ २१ वा २२ गतेदेखि केन्द्रको योजना अनुरुप विभिन्न स्थानमा नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षा डेस्क स्थापना, आकस्मिक परिस्थितिका लागि स्ट्राइकिङ टोली र निगरानीका लागि मोबाइल सुरक्षा टोलीहरू परिचालन गरिने तयारी छ।
निर्वाचनलाई भयरहित बनाउन मतदानस्थलहरूलाई अति संवेदनशील, संवेदनशील र कम संवेदनशील गरी तीन वर्गमा विभाजन गरिएको छ।
सुरक्षा कारणवश विस्तृत योजना सार्वजनिक नगरिए पनि आन्तरिक सुरक्षा संयन्त्र मजबुत बनाइएको प्रशासनको दाबी छ।
हालसम्म १ सय ५३ मतदानस्थलमध्ये करिब २५ देखि ३० स्थानको मात्र अनुगमन सम्पन्न भएको र बाँकी स्थलहरूको निरीक्षण पनि निर्वाचनअघि नै सकिने निर्वाचन आयोगका सूचना अधिकारी रुद्रनारायण न्यौपानेले जानकारी दिए।
यस्तै गण्डकी प्रदेशभर रहेका १ हजार २ सय ९० मतदानस्थलमध्ये ५० अति संवेदनशील, ५० कम संवेदनशील र बाँकी संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरिएको उनले बताए।
यससँगै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षा तथा जनचेतना कार्यक्रम समेत सञ्चालन गरिने भएको छ।
प्रशासनले सम्पूर्ण मतदातालाई निर्भय, निर्धक्क र सुरक्षित वातावरणमा मतदानमा सहभागी हुन आह्वान गरेको छ।
मुख्य निर्वाचन अधिकृतले पनि मतदाता–मैत्री र सहज मतदान सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।












