कास्की प्रहरीलाई सफलता : लुटिएको इन्सास राइफल फेला
  • प्रमुख खबर

Oplus_131072

माघ २१, पोखरा ।।
कास्की प्रहरीले प्रहरी कार्यालयबाट लुटिएको हतियार लुकाई–छिपाई राखेको अभियोगमा माघ १९ गते दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी स्थायी घर भई हाल पोखरा–९ नयाँबजार बस्दै आएका १८ वर्षीय रवि चौधरी र भारत घर भई हाल पोखरा–२ अर्चलबोट बस्दै आएका १८ वर्षीय राजकुमार रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट एक थान इन्सास राइफल बरामद गरेको हो। पोखरा–२ भिमसेन टोल क्षेत्रमा उनीहरूले हतियार लुकाईछिप्पाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खानतलासी गर्ने क्रममा ती दुई युवक पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवै युवकलाई अनुसन्धान गर्ने क्रममा उनीहरूले गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयबाट हतियार लुटेर लगेको स्वीकार गरेको कास्की प्रहरीले जनाएको छ ।

कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतका अनुसार लुटिएको हतियार ‘RIFLE 5.56 mm M3226’ लेखिएको इन्सास राइफल भएको जानकारी दिएका छन्।

उनले सो लुटिएको हतियार पोखरा–२ भिमसेन टोलस्थित एक घरको टहरोमा दाउराको खलियोभित्र लुकाएर राखिएको अवस्थामा बरामद गरिएको बताए ।

अहिले दुवै जना प्रहरी नियन्त्रणमा रहेको र दुवैलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्