ग्यास संकट अन्त्यतिर : निगमद्वारा देशभर नियमित वितरण सुरु
  • प्रमुख खबर

Oplus_131072

माघ २१, काठमाडौं ।।
लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्ताका लागि राहत हुने भएको छ ।

नेपाल आयल निगमले बुधबार(आज)देखि देशभर ग्यास आपूर्ति सहज बनाइने र बजारमा देखिएको अभाव क्रमशः हट्दै जाने दाबी गरेको छ।

माघ महिनायता विशेषगरी काठमाडौं उपत्यकामा ग्यासको चरम अभाव देखिएको थियो।

ग्यासका लागि उपभोक्ताले घण्टौँ लाइन बस्नुपर्ने, पसल–पसल धाउनुपर्ने र अन्ततः ‘ग्यास सकियो’ भन्ने जवाफ लिएर फर्किनुपर्ने अवस्था थियो।

डिपो र बिक्रेताले समेत आपूर्ति कम भएको कारण देखाउँदै नियमित वितरण गर्न नसकेको बताएका थिए।

निगमका अनुसार जाडो मौसममा खपत बढ्नु र माग अचानक चुलिनु अभावको मुख्य कारण हो। तर अब आपूर्ति सन्तुलनमा ल्याएर बजारलाई सामान्य अवस्थामा फर्काइने बताइएको छ।

हाल भारतबाट मासिक ४९ हजार ५ सय मेट्रिक टन एलपी ग्यास आयात भइरहेको छ।

निगमका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार आयातित ग्यास देशभर रहेका ६० वटा उद्योगमार्फत वितरण भैरहेको छ र आपूर्ति सुदृढ पार्न थप व्यवस्थापन गरिएको छ।

त्यस्तै चुनाव लक्षित गर्दै थप २ हजार मेट्रिक टन ग्यास आयात गर्ने तयारीसमेत गरिएको निगमले जनाएको छ।

निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र कृत्रिम अभाव सिर्जना नगर्न आग्रह पनि गरेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्