१० हजार बढी धावक सहभागी हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गतेदेखि
  • सरिता गुरुङ

माघ २७, पोखरा ।।
पर्यटनको राजधानी पोखरा केबल हरियाली डाँडाकाँडा, वनजङ्गल, ताल तलैया, हिमाल र मनमोहक वातावरण भएको शहरको रूपमा मात्र सिमित छैन।

पछिल्लो समय यहाँ हुने विभिन्न खेलकुदका गतिविधिहरुले यो शहरलाई खेलकुद शहरको रुपमा पनि स्थापित गराएको छ।

विशेषगरी पोखरामा आयोजना हुने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू जस्तै कयाकिङ, ड्र्यागन बोट रेस, प्याराग्लाइडिङ, फुटबल, भलिबल लगायतका खेलले यस सुन्दर नगरीलाई विशेष बनाएको छ।

अझै विशेष त यहाँ आयोजना हुने पोखरा अन्तराष्ट्रिय माराथनले बनाएको छ । फेवातालको किनार, माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखलाको अनुपम पृष्ठभूमिमा हुने यो म्याराथनले पोखरालाई मात्र होइन, स्वदेशी र विदेशी धावकहरूको पसिना, संघर्ष र जितको प्रतीकको रूपमा पनि चिनाउँदै आएको छ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने यस म्याराथनले खेलकुद क्षेत्रलाई मात्र नभई नेपालको खेल पर्यटनको भविष्यलाई नयाँ गति समेत दिन थालेको छ।

फागुन २ गते पोखरा रंगशालाबाट शुरू हुने यस प्रतियोगितामा देश तथा विदेशका सयौँ धावकहरू एउटै ट्र्याकमा उत्रिँदैछन् ।

उनीहरू कोही कीर्तिमान तोड्न, कोही आफैँलाई जित्न त कोही पोखराको सुन्दरतासँग दौडिन सहभागिता जनाउँदै छन् ।

यस वर्ष पोखरा म्याराथन अन्तर्गत ४२ किलोमिटरको म्याराथन, हाप म्याराथन (२१ किलोमिटर) सहितका २१ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत ती इभेन्टमा ३ हजार ५ सय ६ जना धावकरुले नाम दर्ता गराएको  मञ्चका अध्यक्ष दील बहादुर गुरुङले जानकारी दिएका छन् ।

यस्तै रन फर फनमा ६ हजार ७ सय जना गरी कुल १० हजार २ सय ६ जना यस म्याराथनमा दौडिने समेत उनले बताए ।

उनका अनुसार यस प्रतियोगिता अन्तर्गत खुल्ला म्याराथनमा २१ देशका ६० भन्दा बढी विदेशी धावकसहित १ सय ५१ जनाले प्रतिष्पर्धा गर्ने जनाइएको छ । फूल म्याराथनकै ४५ वर्ष भन्दा माथिको उमेर समूहमा २८ जना धावक दौडिने पनि अध्यक्ष गुरुङले बताए।

यस्तै हाफ म्याराथन पुरुषतर्फ ८ विदेशीसहित १ सय ८८ जना, महिलातर्फ ८ विदेशीसहित १ सय ९० जना, ४५ वर्ष भन्दा माथिको उमेर समूहमा १ विदेशीसहित २५ जनाले नाम दर्ता गराएको उनले बताए ।

१० किलोमिटर दौड विधाको पुरुषतर्फ ७ विदेशीसहित २ सय ७ जना, महिलातर्फ ६ विदेशीसहित ८६ जना, ५ किलोमिटर भेट्रान्स (५० वर्ष माथि) पुरुषतर्फ ७५ जना र ५ किलोमिटर भेट्रान्स (४५ वर्ष भन्दा माथि) महिलातर्फ ३० जना दौडिने आयोजकले जनाइएको छ ।

त्यस्तै यसै म्याराथनअन्तर्गत ५ किलोमिटर छात्रतर्फ १ हजार ६ सय ५० र छात्रातर्फ ४ सय ७५ जना, ५ किलोमिटर पुरुष (१७ देखि ४९ वर्ष उमेर समूह)तर्फ २ सय २५ जना, ५ किलोमिटर महिला (१७ देखि ४४ वर्ष उमेर समूह)तर्फ ८० जना, ५ किलोमिटर कर्पोरेट महिलातर्फ १ सय ६० जना र ५ किलोमिटर कर्पोरेट पुरुषतर्फ ७० जना सहभागी छन् ।

प्रतिष्पर्धात्मक दौडबाहेक सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनमा स्वास्थ्य र मनोरञ्जनलाई प्राथमिकता दिँदै
“रन फर फन” दौड पनि हुने मञ्चका अध्यक्ष गुरुङले बताए। जहाँ दौडिन नसक्ने तर रहर गर्नेहरु दौडिन पाउनेछन् ।

अध्यक्ष गुरुङका अनुसार यो दौड विशेषगरी प्रतिस्पर्धामा भाग लिन नसक्ने तर दौड्ने रहर भएकाहरुको लागि हो।

यस्तै यसपटक म्याराथनमा प्रथम हुनेले ४ लाख, दोश्रो हुनेले २ लाख, तेश्रो हुनेले १ लाख, चौंथो हुनेले ५० हजार, पाचौं हुनेले ३० हजार, छैटौं हुनेले २० हजार, सातौं हुनेले १० हजार आठौंले ५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

४५ वर्ष भन्दा माथिको उमेर समूहको म्याराथनमा प्रथम हुनेले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार प्राप्त गर्ने जनाइएको छ ।

त्यस्तै म्याराथन अन्तर्गत नै नेपाल विधामा प्रथम हुनेले १ लाख, द्वितीयले ५० हजार, तृतीयले २५ हजार, चौथो हुनेले १५ हजार र पाचौं हुनेले १० हजार प्राप्त गर्ने छन्।

गण्डकी विधामा प्रथम हुनेले ५० हजार, द्वितीय ३० हजार, तृतीय २० हजार, चौथो १५ हजार र पाचौंले १० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले बताएको छ।

हाफ म्याराथनको पुरुष तथा महिला दुबैतर्फ प्रथमले ७५ हजार, द्वितीय ५० हजार, तृतीय ३० हजार, चौथो २० हजार, पाचौंले १० हजारको साथै ४५ वर्ष भन्दा माथि उमेर समूहको हाफ म्याराथनमा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीयलाई १० हजार प्रदान गरिनेछ ।

१० कि.मी. पुरुष/महिला दौडमा प्रथमले ३०, दोश्रोले २० हजार र तेश्रो हुनेले १५ हजार, ५ किलोमिटर छात्र–छात्रा दौडमा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।

५ किलोमिटर ४५ वर्ष माथिको दौड महिलातर्फ र ५० वर्ष माथिको पुरुष दौडमा प्रथम हुनेले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।

यससँगै ४४ वर्षभन्दा मुनिको ५ किलोमिटर खुल्ला महिला तथा ४९ वर्षभन्दा मुनिको पुरुष दौडमा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार, कर्पोरेटतर्फको महिला तथा पुरुष दौडमा पनि प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।

यसै म्याराथनअन्तर्गत माघ २४ गते ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन महिला तथा पुरुष दौड सम्पन्न भइसकेको समेत मञ्चले जनाएको छ ।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्